काठमाडौं— पूर्व सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले आफूमाथि मिडिया ट्रायल भइरहेको दाबी गर्दै कानुनी उपचारमा जाने बताएका छन् । सरकारी स्वामित्वमा आइसकेको स्मार्ट टेलिकमको अर्बौँ रुपैयाँ बराबरको सम्पत्ति हिनामिना र लिलामी प्रकरणमा आफ्नो नाम जोडिएपछि खरेलले सामाजिक सञ्जालमार्फत स्पष्टीकरण दिँदै ‘भ्रम फैलाउने’ माथि कानुनी उपचार खोज्ने चेतावनी दिएका हुन् ।

अन्तरिम सरकारका सञ्चारमन्त्री रहेका बेला स्मार्ट टेलिकमको अनुमतिपत्र रद्द भई सरकारी स्वामित्वमा आइसकेको सम्पत्ति एनसेललाई कम मूल्यमा लिलामी गराउन भूमिका खेलेको आरोप खरेलमाथि लगाइएको छ । उक्त प्रकरणमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले तत्कालीन प्रबन्ध निर्देशक सर्वेश जोशीलाई पक्राउ गरेपछि खरेल अनुसन्धानबाट बच्न सुटुक्क स्वीट्जरल्याण्ड पुगेको भन्दै विभिन्न सञ्चारमाध्यममा समाचार प्रकाशित भएका थिए ।

सञ्चारमाध्यम र सामाजिक सञ्जालमा आएका आरोपहरूको प्रतिवाद गर्दै खरेलले आफू पूर्वनिर्धारित कार्यक्रमको सिलसिलामा स्वीट्जरल्याण्डमा रहेको र कुनै पनि गल्ती नगरेकाले डराउनुपर्ने अवस्था नरहेको जिकिर गरेका छन् ।

उनले फेसबुकमा लेखेका छन्, “अहिले ममाथि मिडिया ट्रायल भएको छ । केही सञ्चारमाध्यम तथा सामाजिक सञ्जालमा मेरो नाम जोडेर नियोजित रूपमा ‘फेक न्युज’ फैलाइएको छ । कृपया भ्रममा नपर्नु होला । अहिले म कार्यक्रमको सिलसिलामा स्वीट्जरल्याण्डमा छु । गल्ती गरेको छैन । त्यसैले अलिकति पनि डर छैन ।”

उनले सत्यको सधैँ जित हुने भन्दै आफ्नो चरित्र र राजनीतिक भविष्यमाथि प्रहार गर्न नियोजित प्रहार गरिएको आरोप लगाए । “सोधे हुन्छ, खोजे हुन्छ, तर सत्य सत्य नै हुन्छ । मेरो इमान नै मेरो गन्तव्यको लागि पर्याप्त छ । यस्ता भ्रामक, नियोजित तथा कपोलकल्पित प्रहारले मेरो चरित्र र राजनीतिक भविष्यमाथी प्रहार गर्छु भनेर नसोचे हुन्छ । बाँकी कानुनी उपचार खोज्ने छु,” उनले लेखेका छन् ।

स्मार्ट टेलिकमले राज्यलाई तिर्नुपर्ने करिब ३० अर्ब रुपैयाँ बक्यौता नतिरेपछि ८ वैशाख २०८० मा यसको लाइसेन्स रद्द भएको थियो । नियमानुसार लाइसेन्स रद्द भएसँगै कम्पनीको सम्पूर्ण सम्पत्ति सरकारी स्वामित्वमा आउनुपर्ने भएपनि मन्त्री खरेल र दूरसञ्चार प्राधिकरणका अध्यक्ष भूपेन्द्र भण्डारीको ‘मौन स्वीकृति’ मा सो सम्पत्ति चार अर्ब ६० करोडमा एनसेललाई बिक्री गरिएको दाबी गर्दै केही सञ्चारमाध्यमले सामग्री सम्प्रेषण गरेका थिए ।

खरेल सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का तर्फबाट प्रतिनिधि सभा सदस्य समेत हुन् ।