काठमाडौं— दन्त उपचार क्षेत्रमा नेपालमै नयाँ आयाम थप्दै वसुन्धरास्थित कान्तिपुर डेन्टल कलेज टिचिङ हस्पिटल एण्ड रिसर्च सेन्टर (केडीसी)ले अत्याधुनिक डिजिटल प्रविधि सञ्चालनमा ल्याएको छ। नयाँ हाइब्रिड डेन्टल सीएनसी मिलिङ मेसिनको प्रयोगसँगै अब क्राउन, ब्रिज, इम्प्लान्ट र एबटमेन्ट जस्ता सेवा एउटै स्थानबाट छिटो, सटीक र प्रभावकारी रूपमा उपलब्ध हुने भएको छ।

दन्त अर्थात दाँतका बिरामीले लामो समय कुर्नु पर्ने झन्झट अन्त्य हुँदै केही घण्टामै उपचार सम्पन्न गर्न सक्ने अस्पतालले बताएको छ । विशेषगरी, लिथियम डिसिलिकेट क्राउन करिब ९० मिनेटमै र जिर्कोनिया क्राउन तीन घण्टाभित्र तयार गर्न सकिने बताइएको छ।
यसअघि प्रयोग हुँदै आएको एल्जिनेट इम्प्रेसन विधि बिरामीका लागि असहज, समय खपत हुने र कहिलेकाहीँ कम सटीक हुने समस्या रहेको थियो। तर अब कम्प्युटर एडेड डिजाइन तथा कम्प्युटर एडेड म्यानुफ्याक्चरिङ प्रणालीमा आधारित डिजिटल प्रविधिले ती सबै चुनौतीलाई हटाउने विश्वास लिइएको छ।
केडीसीका अध्यक्ष डा. बुद्धिमान श्रेष्ठका अनुसार संस्थाले एनालग प्रणालीबाट पूर्ण रूपमा डिजिटल र अटोमेटेड प्रविधितर्फ रूपान्तरण गरेको छ। “यसले उपचारलाई मात्र होइन, सम्पूर्ण सेवा प्रवाहलाई छिटो, सटीक र विश्वसनीय बनाउने,” उको भनाइ छ ।

नयाँ प्रणालीअन्तर्गत इन्ट्राओरल स्क्यानरमार्फत बिरामीको मुखको संरचना डिजिटल रूपमा स्क्यान गरिन्छ। त्यसपछि सो डाटालाई ‘एसटिएल फाइल’का रूपमा सुरक्षित गरी डिजिटल ल्याबमा ‘थ्रीशेप डेन्टल सिस्टम’ र ‘एक्जोक्याड’ सफ्टवेयरमार्फत डिजाइन तयार पारिन्छ। अन्ततः मिलिङ मेसिनबाट आवश्यक दन्त संरचना स्वचालित रूपमा उत्पादन गरिन्छ।
मेसिन आपूर्तिकर्ता कम्पनी गर्ग डेन्टल सप्लायर्सका सिनियर सर्भिस म्यानेजर सन्तोष कुइकेलका अनुसार यो प्रविधिले ९९ प्रतिशतभन्दा बढी सटीकता सुनिश्चित गर्छ। जिर्कोनिया, लिथियम डिसिलिकेट र टाइटेनियम जस्ता सामग्रीमा अत्यन्तै परिशुद्ध रूपमा संरचना निर्माण गर्न सकिने उनले बताए।
यसका साथै, अर्थोडोन्टिक उपचारका लागि आवश्यक अलाइनरहरू पनि अब डिजिटल रूपमा तयार गर्न सकिनेछ। थ्रीडी मोडेलिङ र डिजिटल वर्कफ्लोका कारण उपचार प्रक्रिया अझ छिटो, सफा र बिरामीमैत्री हुने अपेक्षा गरिएको छ।

डा. श्रेष्ठले यो प्रविधि केवल सेवा सुधारमा सीमित नभई भावी जनशक्ति उत्पादनमा समेत महत्वपूर्ण हुने बताए। “विद्यार्थीहरूले अन्तर्राष्ट्रिय स्तरको अभ्यास गर्ने अवसर पाउनेछन्, जसले नेपालमा डिजिटल डेन्टिस्ट्रीको विकासलाई गति दिनेछ,” उनले उल्लेख गरे।
छिटो, सटीक र विश्वसनीय उपचार सेवाको लक्ष्यसहित सुरु गरिएको यो प्रविधिले अब बिरामीलाई अस्पतालमै केही घण्टाभित्र क्राउन वा ब्रिज लगाएर फर्कने सुविधा दिएको छ। केडीसीले यसलाई नेपालको दन्त उपचार क्षेत्रमा महत्वपूर्ण उपलब्धिका रूपमा प्रस्तुत गरेको छ।




































