काठमाडौं— वडामा जन्मिएर विभिन्न क्षेत्रमा योगदान दिने ३२ जना विशिष्ठ व्यक्तिहरुलाई काठमाडौं महानगरपालिकाको वडा नं.२७ ले सम्मान गरेको छ । नेपाल व्यायाम मन्दिरमा आयोजना गरिएको कार्यक्रममा स्वास्थ्य, शिक्षा, सामाजिक विकास, गायन, वादन, खेलकुद क्षेत्रमा योगदान गर्ने १९ जना व्यक्तित्व थिए । यस्तै ५ जना सामाजिक व्यक्तित्व र ८ जना पूर्व वडाध्यक्षहरुलाई मरणोपरान्त सम्मान प्रदान गरिएको हो । उनीहरुलाई महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डंगोल, प्रवक्ता नविन मानन्धर, वडाध्यक्ष योगेशकुमार खड्गीले माला, दोसल्ला तथा प्रमाण पत्रबाट सम्मान गरे ।
मरणोपरान्त सम्मान प्रदान गरिएका वडाध्यक्षहरुमा साधना प्रधान, भुवनलाल प्रधान, गोपालदास मानन्धर, हरिनारायण महर्जन, हरिबहादुर श्रेष्ठ, सागर मिश्र, अमरविरसिंह तुलाधर र कृष्ण नारायण श्रेष्ठ छन् ।
उनीहरुलाई सम्मान गर्दै कार्यवाहक प्रमुख डंगोलले, समाजको सन्तुलित विकासका लागि वडाले गरेका कामको प्रशंसा गरिन् । ‘स्वास्थ्य, शिक्षा, खेलकुद, संस्कृति तथा सम्पदाको संरक्षण, सहरी विकास र व्यवस्थापनका हरेक आयाममा वडाको समान दृष्टि छ । यो अनुकरणीय दृष्टि हो ।’ उनले भनिन्, ‘नागरिकका माझमा बसेर योजना बनाउने तथा सेवा प्रवाह गर्ने वडाका जनप्रतिनिधि र कर्मचारीको कार्यशैलीको म प्रशंशक हुँ ।’
‘कर्मका सिलसिलामा विभिन्न क्षेत्रमा पुगे पनि वडामा जन्मिएका विशिष्ठ व्यक्तित्वहरुलाई सम्मानित गरिएको हो ।’ वडाध्यक्ष योगेश कुमार खड्गीले भने, ‘आपसमा सद्भाव र सहरी सेवा सुविधामा समान पहुँच प्रदान गर्न हामी निरन्तर काम गरिरहेका छौँ ।’
‘अग्रजलाई गरिने सम्मानबाट नयाँ पुस्तालाई केही गर्नु पर्छ भन्ने सन्देश प्रवाह हुन्छ भन्ने आशा गरेका छौँ ।’ वडा सदस्य सृष्टि कंसाकारले भने, ‘वडामा हुर्किएका अग्रजहरुको संघर्ष र योगदान पुस्ताहरुका लागि अनुकरणीय छ ।’
वडाले यसप्रकारको सम्मान कार्यक्रम २०७९ सालबाट थालेको हो । पहिलो वर्ष १५ जनालाई सम्मानित गरिएको थियो । दोस्रो वर्ष १४ जना, तेस्रो वर्ष २० जनालाई सम्मानित गरिएको थियो ।




































