काठमाडौं— मेडिकल व्यवसायी दुर्गा प्रसाईंको पूर्वाञ्चल क्यान्सर अस्पताललाई थप ६५ करोड रुपैयाँ कर्जा दिन जिल्ला अदालत झापाले बैंकहरूलाई आदेश दिएको छ।

न्यायाधीश लोकबहादुर हमालको इजलासले कुमारी बैंक, प्रभु बैंक, ग्लोबल आईएमई बैंक र गुडविल फाइनान्सलाई सहवित्तीयकरण सम्झौता अनुसार ऋण उपलब्ध गराउन तथा अस्पताल पूर्ण सञ्चालन नभएसम्मको ब्याज पुँजीकरण गर्न निर्देशन दिएको हो।

अस्पतालले सम्झौता अनुसार कर्जा नपाएको भन्दै दायर गरेको रिटमा अदालतले बैंकहरूको पूर्व प्रतिबद्धता र परियोजनाको आवश्यकतालाई आधार मानेर यस्तो आदेश दिएको हो।

बैंकहरूले भने ऋणीले किस्ता नतिरेको, कर्जा भाखा नाघेको र जोखिम बढेको भन्दै थप लगानी गर्न नसकिने दाबी गरेका थिए। तर अदालतले बैंकहरूले समयमै कर्जा नदिँदा नै परियोजना प्रभावित भएको ठहर गरेको छ।

अदालतले कोभिड–१९, तरलता अभाव र बैंकको ढिलाइका कारण अस्पताल पूर्ण रूपमा सञ्चालनमा आउन नसकेको निष्कर्ष निकाल्दै ‘करारको परिपालना’ गर्न बैंकहरूलाई निर्देशन दिएको छ।