जनकपुर— तराई मधेशमा आज माटो खेलेर जुडशितल पर्व मनाइँदै छ । बैशाख २ गत्ते तराई मधेशमा ठूला बडाले आफू भन्दा सानोको टाउकोमा शितल जल हालेर आर्शिवाद दिने र माटो पनि खेल्ने परम्परा रहेको छ ।

तराई मधेश क्षेत्रमा आजबाट गर्मी बढ्दै जाने मानिन्छ । माटोले शरीरलाई शितल बनाउने र अन्य पोषण प्रदान गर्ने विश्वासका साथ आजको दिन माटो खेल्ने गरिन्छ । जनकपुरधाममा आजको दिनलाई विशेष उत्सव झैं मनाईन्छ । जनकपुरधामका विभिन्न पोखरी, ताल तलैयाहरुमा स्थानीयहरु जम्मा भएर एक अर्कालाई आर्शिवाद दिनुका साथै माटो दलेर जुडशितल मनाउने गर्छन । सोही क्रममा आज प्रतिनिधिसभा सदस्य रास्वपाका पर्वक्ता मनिष झाले पनि जनकपुरधामको अरगज्जा पोखरीको डिलमा माटो खेलेका छन् ।

जनकपुरधामका स्थानीय तथा विशिष्ट व्यक्तिहरुको उपस्थितीमा उनले माटो खेलेका छन् । उनले मिथिलाका परम्परा र पर्व प्रत्यक्ष प्रकृतिसंग जुडेको हुनाले आज दिन विशेष रहेको बताए ।

उनले जुडशितल पर्वमा कुनै जातजाती, लिंङ्ग, धर्मबीच भेदभाव नगरी सबैले एक अर्कासंग माटो खेलेर माया साट्ने बताए ।

जुडशितलको दिन तराई मधेशमा विशेष परिकार (करही, तरुवा, सोइजनको तरकारी, दही) खाने परम्परा रहेको छ ।