रामेछाप— रामेछापको मन्थली नगरपालिका–१३ फुलासीमा बुधबार एक दिने निःशुल्क आयुर्वेदिक स्वास्थ्य उपचार तथा आँखा जाँच शिविर सम्पन्न भएको छ । वागती प्रदेश सरकार स्वास्थ्य मन्त्रालय अन्तर्गत आयुर्वेद तथा वैकल्पिक चिकित्सालय रामेछापको आयोजना तथा वडा कार्यालयको समन्वयमा आयुर्वेदिक तथा तिलगंगा आँखा प्रतिष्ठानको आयोजनामा आँखा जाँच शिविर भएको हो ।

आयुर्वेदिक स्वास्थ्य शिविरमा करिब २ सय जनाले स्वास्थ्य सेवा लिएका आयुर्वेद तथा वैकल्पिक चिकित्सालय रामेछापका प्रमुख दीपक कार्कीले जानकारी दिए । उनका अनुसार शिविरमा बिरामीहरूको निःशुल्क स्वास्थ्य परीक्षण, स्वास्थ्य परामर्श तथा निःशुल्क औषधि वितरण गरिएको थियो ।

चिकित्सालयका डाक्टर उत्तम गैरेका अनुसार शिविरमा हाड जोर्नी दुखाइ, बाथ, सुगर, प्रेसर, ग्यास्ट्रिक, महिलाजन्य समस्या, पुरानो खोकी तथा नसासम्बन्धी रोगलगायत विभिन्न स्वास्थ्य समस्याका बिरामीहरू उपचारका लागि आएका थिए ।

सोही स्थानमा तिलगंगा आँखा प्रतिष्ठानको आयोजनामा सञ्चालन गरिएको आँखा परीक्षण शिविरमा १८४ जनाले आँखा परीक्षण गराएका छन् । आँखा शिविरमा निःशुल्क आँखा परीक्षण, औषधि वितरण तथा चस्मा बिक्रीका साथै मोतिया बिन्दुको शल्यक्रिया आवश्यक भएका बिरामीहरूको छनोट गरिएको छ ।

वडाध्यक्ष नवराज थापा मगरले स्थानीयले गाउँमै सहज रूपमा स्वास्थ्य सेवा पाउन सकुन् भन्ने उद्देश्यले शिविर आयोजना गरिएको बताए ।