काठमाडौं— काठमाडौं महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलले सर्भाइकल क्यान्सरबारे सचेतना अभिवृद्धि गर्न समयमै परीक्षण आवश्यक रहेको बताएकी छन् ।

सोमबार आयोजित स्तन, पाठेघर तथा सर्भाइकल क्यान्सर स्क्रिनिङ शुभारम्भ कार्यक्रममा बोल्दै डंगोलले विश्वभर धेरै महिलामा सर्भाइकल क्यान्सर देखिने गरेको उल्लेख गरिन् ।

उनले भनिन्, ‘हरेक दिन संसारभर सर्भाइकल क्यान्सरका कारण महिलाहरूको ज्यान गइरहेको छ । तर क्यान्सर भनेको तत्काल मृत्यु हुने रोग होइन, यसको समयमै उपचार सम्भव छ भन्ने कुरा बुझाउन जरुरी छ ।’

उनले समयमै रोग पहिचान भएमा उपचार प्रभावकारी हुने बताउँदै नियमित परीक्षणको महत्वमा जोड दिइन् । डंगोलले कतिपय महिलाहरू सचेतनाको अभाव, डर तथा लाजका कारण परीक्षण गर्न नमान्ने गरेको पनि बताइन् ।

उनले भनिन्, ‘यो उपचार कसरी हुन्छ ? यदी समयमै पत्ता लाग्यो भने पो उपचार हुन्छ, त्यसको लागि समयमै हामीले परीक्षण पनि गर्नुपर्छ । कतिपय सचेत नभएकै कारणले पनि परीक्षण गर्न मान्दैनन् । कति जना डराउँछन् पनि, कति जना आफू सहज मान्दैन लाज लाग्यो भनेर परीक्षण गराउँदैनन् । म यहीबाट अनुरोध गर्न चाहन्छु अब यो लाज, डर, अचेत यो सबै कुरालाई तोड्ने समय हो ।’

कार्यक्रममा महिलाहरूलाई नियमित स्वास्थ्य परीक्षणमा सहभागी भई सर्भाइकल क्यान्सरको जोखिमबाट जोगिन आग्रह गरिएको थियो ।