कैलाली— जिल्लाको धनगढीमा ‘सुधावती तेल’ सम्बन्धी जानकारी दिन पत्रकार सम्मेलन आयोजना गरिएको छ। कल्पसन्द न्यूरोप्याथिक हस्पिटल एण्ड रिसर्च सेन्टर प्रा. लि. को आयोजनामा भएको कार्यक्रममा तेलको उपयोगिता, उत्पादन प्रक्रिया र बजार विस्तारबारे जानकारी दिइएको हो।
धनगढी उपमहानगरपालिका–७ जाखोरतालस्थित अस्पतालका सञ्चालक दिपेन्द्र थापाले छिट्टै सेवा सञ्चालन गर्ने तयारी रहेको बताए। उनका अनुसार ‘सुधावती तेल’ न्यूरोप्याथिक तथा आयुर्वेदिक पद्धतिमा आधारित रहेको तथा विभिन्न दीर्घरोगहरूको उपचारमा सहयोग पुग्ने दाबी गरिएको छ।
कार्यक्रममा प्रमुख अनुसन्धानकर्ता कमल जोशी ले २०६१ सालदेखि उक्त तेलमाथि अनुसन्धान हुँदै आएको जानकारी दिए। उनले क्यान्सर लगायतका रोगहरूमा प्रारम्भिक अध्ययन (पाइलट र अब्जर्भेसनल) गरिएको उल्लेख गरे।
उक्त उत्पादन सुदूरपश्चिमका स्थानीय नागरिकहरूको सामूहिक स्वामित्वमा आधारित रहेको जनाइएको छ। साथै, आगामी नयाँ वर्षदेखि नियमित उत्पादन र बजारमा उपलब्ध गराउने तयारी भइरहेको जानकारी दिइएको छ।






































