काठमाडौं— सरकारले मंगलबार विशेष कार्यक्रमको आयोजनागरी विश्व क्षयरोग दिवस मनाउने भएको छ ।
सोमबार भक्तपुरको राष्ट्रिय क्षयरोग नियन्त्रण केन्द्रमा पत्रकारको सम्मेलन आयोजनागरी कार्यक्रमबारे जानकारी गराइएको हो ।
‘राष्ट्रिय अभियान, हाम्रो योगदान’ भन्ने मूल नाराका साथ विश्व क्षयरोग दिवस मनाउन लागेको केन्द्रका उपसचिव कमलप्रसाद तिमल्सेनाले जानकारी दिए ।
उनको अनुसार संघ, प्रदेश र स्थानीय तहमा विभिन्न जनचेतनामूलक कार्यक्रम आयोजना गरिएको हो ।
केन्द्रका अनुसार दिवसका अवसरमा र्याली, अन्तरक्रिया, सचेतनामूलक अभियान तथा मिडिया कार्यक्रमहरू सञ्चालन भएसकेका छन् ।
केन्द्रले क्षयरोग अन्त्यका लागि सबै सरोकारवालालाई सहकार्य गर्न आह्वान गरेको छ ।
नेपालमा क्षयरोग अझै पनि प्रमुख जनस्वास्थ्य समस्याका रूपमा रहेको छ । विश्व स्वास्थ्य संगठनका अनुसार सन् २०२४ मा नेपालमा अनुमानित ६७ हजार नयाँ क्षयरोगका बिरामी रहेका छन् । साथै, हरेक वर्ष करिब १६ हजार मानिसको क्षयरोगका कारण मृत्यु हुने गरेको अनुमान छ ।
गत आर्थिक वर्ष २०८१/८२ मा ३९ हजारभन्दा बढी औषधि संवेदनशील क्षयरोगका बिरामी पहिचान गरी उपचार गरिएको केन्द्रले जनाएको छ । उपचार सफलता दर औषधि संवेदनशील क्षयरोगमा ९२ प्रतिशत र औषधि प्रतिरोधी क्षयरोगमा ७६ प्रतिशत रहेको छ ।
देशभर ६ हजारभन्दा बढी स्वास्थ्य संस्थामार्फत क्षयरोग उपचार सेवा उपलब्ध गराइएको छ भने माइक्रोस्कोपी र आधुनिक परीक्षण सेवासमेत विस्तार गरिएको छ । साथै, औषधि प्रतिरोधी क्षयरोग उपचारका लागि विशेष केन्द्रहरू सञ्चालनमा रहेका छन् ।
यद्यपि, अझै पनि करिब ४२ प्रतिशत बिरामी उपचारको पहुँचमा आउन नसकेको तथ्यले चुनौती कायमै रहेको देखाउँछ। आर्थिक भार, सामाजिक लाञ्छना र स्रोतसाधनको अभावका कारण रोग नियन्त्रणमा कठिनाइ भइरहेको छ ।
सरकारले आगामी दिनमा एआई जडित डिजिटल एक्स–रे, द्रुत परीक्षण सेवा विस्तार तथा स्थानीय तहको नेतृत्वमा कार्यक्रम सुदृढ गर्ने योजना बनाएको जनाएको छ ।
केन्द्रले क्षयरोग अन्त्यका लागि सरकार मात्र नभई निजी क्षेत्र, नागरिक समाज, सञ्चारमाध्यम र सर्वसाधारणको सक्रिय सहभागिता आवश्यक रहेको जनाएको छ ।






































