रामेछाप— सिन्धुली जिल्लामा दुई मोटरसाइकल एक आपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् ।

जिल्लाको सुनकोशी गाउँपालिका–६ घुमाउने चैनपुरस्थित बी.पी. राजमार्ग सडक खण्डमा सोमबार राति करिब ९ बजे दुर्घटना भएको इलाका प्रहरी कार्यालय खुर्को टले जनाएको छ ।

प्रहरीका अनुसार चैनपुरबाट खाल्टेतर्फ आउँदै गरेको बा.प्र ०२-०२७ प ११०० नम्बरको मोटरसाइकल र सिन्धुलीबाट काठमाडौँ जाँदै गरेको प्र.३-०२-०१४ प ८३६० नम्बरको मोटरसाइकल ठोक्किँदा दुर्घटना भएको हो ।

दुर्घटनामा डल्ले माझी ९अन्दाजी ४५०, मन्थली नगरपालिका–६का बासिन्दाको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । उनलाई आत्मीय सामुदायिक अस्पताल खाल्टेमा उपचारका क्रममा चिकित्सकले राति १०:१५ बजे मृत घोषणा गरेका थिए ।

यस्तै, अर्को मोटरसाइकल चालक कैलाश तोलाङ्गे (३२) र पछाडि सवार दिपेन्द्र के.सी.9४९) घाइते भएका छन्। उनीहरूको दाहिने खुट्टा तथा टाउकोमा चोट लागेको बताइएको छ ।

दुवै घाइतेलाई प्रारम्भिक उपचारपछि थप उपचारका लागि काठमाडौँ पठाइएको छ । उनीहरूको केएमसी मेडिकल कलेज सिनामंगलमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

दुर्घटनामा संलग्न दुवै सवारी साधन प्रहरीले नियन्त्रणमा लिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।