काठमाडौं— अर्थमन्त्री रामेश्वर खनाललाई नयाँ सरकारमा पनि सोही जिम्मेवारीमा निरन्तरता दिने तयारी भएको चर्चा चलेको छ। आर्थिक संकटको समयमा मुलुकको अर्थतन्त्र सम्हाल्न खेलेको भूमिकालाई ध्यानमा राख्दै उनलाई फेरि अर्थ मन्त्रालयको नेतृत्व दिन सकिने स्रोतहरू बताउँछन्।

प्रधानमन्त्री सुशीला कार्कीले पनि खनालको कार्यसम्पादनप्रति सकारात्मक धारणा व्यक्त गरेकी छन्। राष्ट्रपति रामचन्द्र पौडेलसमेत उनको भूमिकाबारे सकारात्मक रहेको बताइन्छ।

हाल रास्वपाले दुई तिहाइ नजिकको बहुमत हासिल गरेपछि बालेन शाहको नेतृत्वमा नयाँ सरकार गठनको तयारी भइरहेको छ। बालेनले प्राविधिक तथा अनुभवी व्यक्तिहरूलाई समेटेर सक्षम टोली बनाउने योजना अघि बढाएका छन्।

यसैबीच राष्ट्रियसभामा राष्ट्रपतिबाट मनोनित हुने एक सदस्यका लागि प्रधानमन्त्री कार्कीले खनालको नाम सिफारिस गर्ने सम्भावना रहेको बुझिएको छ। राष्ट्रियसभामा मनोनित भएपछि उनलाई फेरि अर्थमन्त्री बनाउने विषयमा पनि छलफल भइरहेको स्रोतहरूको दाबी छ।

यद्यपि रास्वपाका उपसभापति डा. स्वर्णिम वाग्ले पनि सम्भावित अर्थमन्त्रीका रूपमा चर्चामा रहेका छन्। तर बालुवाटारमा भने अनुभवी खनाललाई नै पुनः जिम्मेवारी दिने विषयमा छलफल भइरहेको बताइन्छ।

हालै राष्ट्रियसभामा १८ जना सदस्यहरूले अध्यक्ष नारायणप्रसाद दाहालसमक्ष पद तथा गोपनीयताको शपथ लिइसकेका छन्। अब बाँकी एक सदस्य राष्ट्रपतिबाट मनोनित हुने व्यवस्था रहेकोले यसै साताभित्र प्रधानमन्त्रीबाट सिफारिस हुन सक्ने स्रोतले जनाएको छ।