चितवन— भरतपुर महानगर क्षेत्रको यातायात व्यवस्थापनलाई व्यवस्थित बनाउन जिल्ला प्रशासन कार्यालयले बसपार्क बाहिर टिकट काउन्टर सञ्चालन गर्न तथा यात्रुवाहक बस रोक्न नपाइने निर्णय गरेको छ।
भरतपुरमा प्रशासन र यातायात व्यवसायीबीच भएको छलफलपछि यस्तो निर्देशन जारी गरिएको हो। सहायक प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी शर्माका अनुसार अबदेखि टिकट काउन्टर सञ्चालन र यात्रु चढाउने–ओराल्ने कार्य बसपार्कभित्रबाट मात्रै गर्नुपर्नेछ।
प्रशासनले नारायणगढ बजार क्षेत्रका मुख्य सडकहरूमा हुने अव्यवस्थित पार्किङ तत्काल रोक्न पनि निर्देशन दिएको छ। विशेषगरी पुल्चोक लगायतका स्थानमा पेट्रोल पम्पमा इन्धन हाल्ने बहानामा अनावश्यक रूपमा सवारी रोकेर यात्रु चढाउने कार्य नगर्न भनिएको छ।
त्यसैगरी भरतपुर महानगर क्षेत्रमा बसपार्क बाहिर सवारी कर सङ्कलन गर्ने कार्यसमेत बन्द गरिएको प्रशासनले जनाएको छ। अब सवारी कर केन्द्रीय बस टर्मिनल (पारस बसपार्क) र नारायणगढ बसपार्क (पोखरा बसपार्क) बाट मात्रै उठाइनेछ।
प्रशासनले यातायात व्यवसायीलाई सवारीसाधन निर्धारित स्थानमै पार्किङ गरी नियमअनुसार राजस्व बुझाउन पनि निर्देशन दिएको छ। यसअघि भएका बैठकहरूमा लामो तथा छोटो दुरीका सवारी सञ्चालन, मालवाहक सवारीको रुट व्यवस्थापन, ध्वनि प्रदूषण नियन्त्रण, पार्किङ व्यवस्थापन, टिकट काउन्टर व्यवस्थापन तथा सडक पूर्वाधार सुधारका विषयमा विभिन्न निर्णय गरिएको थियो। ती निर्णयलाई कडाइका साथ कार्यान्वयन गराइने सहायक प्रमुख जिल्ला अधिकारी शर्माले जानकारी दिए।
यसअघि पश्चिम र पूर्व नेपालबाट आएका सवारीसाधनहरू नारायणगढको पुल्चोक तथा बजार क्षेत्रमा लामो समयसम्म रोकेर राख्ने गरिन्थ्यो। सडकछेउमा सवारी रोकिने क्रम बढेपछि ट्राफिक जामको समस्या तीव्र बन्दै गएको थियो। साथै किनमेलका लागि आएका निजी सवारी तथा लामो–छोटो दुरीका बसहरू सडक किनारमै पार्किङ गर्दा बजार क्षेत्र थप अस्तव्यस्त बन्ने गरेको थियो।






































