काठमाडौं—  न्यायपरिषद्ले सर्वोच्च अदालतको आगामी प्रधानन्यायाधीशका लागि ६ जना न्यायाधीशको नामावली सिफारिस गरेको छ। परिषद्को बैठकले चैत १८ गतेदेखि रिक्त हुन लागेको सर्वोच्च पदमा नियुक्तिका लागि योग्य न्यायाधीशहरूको सूची संवैधानिक परिषद्मा पठाएको हो।

वर्तमान प्रधानन्यायाधीश प्रकाशमानसिंह राउत ६५ वर्षे उमेरहदका कारण आगामी चैत १८ गते अवकाश पाउँदै छन्। प्रधानन्यायाधीश अवकाशमा जानुभन्दा एक महिना अगावै नयाँ नेतृत्वको सिफारिस गर्नुपर्ने कानुनी व्यवस्था अनुसार यो प्रक्रिया अघि बढाइएको हो।

सिफारिस गरिएका न्यायाधीशहरूमा वरिष्ठतम् न्यायाधीश सपना प्रधान मल्लसहित न्यायाधीशहरू डा। मनोजकुमार शर्मा, कुमार रेग्मी, हरि फुँयाल, तिलप्रसाद श्रेष्ठ र डा. नहकुल सुवेदी रहेका छन्। संवैधानिक प्रावधान अनुसार सर्वोच्च अदालतमा कम्तीमा तीन वर्ष काम गरेका न्यायाधीशहरू मात्रै प्रधानन्यायाधीशको पदका लागि योग्य मानिन्छन्।

अब न्यायपरिषद्ले पठाएको यो सूचीबाट संवैधानिक परिषद्ले एक जनाको नाम प्रधानन्यायाधीशका रूपमा छनोट गरी संसदीय सुनुवाइका लागि सिफारिस गर्नेछ। संसदीय सुनुवाइ समितिबाट नाम अनुमोदन भएपछि राष्ट्रपतिले नयाँ प्रधानन्यायाधीश नियुक्त गर्ने संवैधानिक व्यवस्था छ।