सुर्खेत— यही फागुन २३ गते सुर्खेतमा एक बालिकामाथि बलात्कारपछि हत्या गरिएको घटनाको निष्पक्ष छानबिन गरी दोषीमाथि कडा कारबाही गर्न मानव अधिकारकर्मीहरूले माग गरेका छन् ।

मंगलबार इन्सेक कर्णाली प्रदेश कार्यालय, मानव अधिकार रक्षक सञ्जाल, महिला मानव अधिकार रक्षक सञ्जाल, आवाज संस्था, नवज्योति केन्द्र, फेडो, डब्लुएचआरडी, एड्भोकेसी फोरम र वाम संस्था लगायतका संस्थाहरूले जिल्ला प्रहरी कार्यालय सुर्खेतका एसपी सुधिरराज शाहीलाई ज्ञापनपत्र बुझाउँदै उक्त माग गरेका हुन् ।

ज्ञापनपत्रमा गुर्भाकोट नगरपालिका–६ घर भई हाल वीरेन्द्रनगर नगरपालिका–१ मा बसोबास गर्दै आएकी १६ वर्षीया इनिसा विकमाथि वीरेन्द्रनगर–४स्थित सहिद पार्क नजिकको जंगल क्षेत्रमा बलात्कारपछि हत्या गरिएको घटना अत्यन्त दुःखद, अमानवीय तथा निन्दनीय भएको उल्लेख गरिएको छ । अन्तर्राष्ट्रिय महिला दिवसको पूर्व सन्ध्यामा भएको उक्त घटनाले सम्पूर्ण समाजलाई स्तब्ध बनाएको पनि उनीहरूले बताएका छन् ।

मानव अधिकारको क्षेत्रमा कार्यरत संस्थाहरूले घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै निष्पक्ष, गहन तथा शीघ्र छानबिन गरी संलग्न दोषीलाई कानून बमोजिम कडा कारबाही गर्न र पीडित परिवारलाई छिटो न्याय दिलाउन माग गरेका छन् ।

त्यसैगरी महिला तथा बालिकामाथि हुने यौन हिंसा तथा अपराधका घटनाको रोकथामका लागि प्रभावकारी सुरक्षा व्यवस्था, निगरानी र सचेतनामूलक कार्यक्रमहरूलाई थप सुदृढ बनाउन सम्बन्धित निकायको ध्यानाकर्षण गराइएको छ । उक्त ज्ञापनपत्रको बोधार्थ प्रमुख जिल्ला अधिकारी, जिल्ला प्रशासन कार्यालय सुर्खेत, जिल्ला सरकारी वकिल कार्यालय सुर्खेत तथा राष्ट्रिय मानव अधिकार आयोग कर्णाली प्रदेश कार्यालयलाई पनि पठाइएको जनाइएको छ ।

प्रहरीले १६ वर्षीय बालकलाई फागुन २३ गते नै घटनास्थलबाटै गिरफ्तार गर्‍यो । पीडित पक्षले फागुन २४ गते दिएको उजुरीको आधारमा शवको पोस्टमार्टम प्रदेश अस्पताल सुर्खेतमा भयो । हालसम्म परिवारजनले शवको सद्गत गरेका छैनन् । प्रहरीले थप अनुसन्धानका लागि फागुन २४ गते अन्य १५, १६ र १७ वर्षीय बालकहरुलाई पनि नियन्त्रणमा लिएर अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालयका एसपी सुधिरराज शाहीले बताए । उनले यस घटनामा प्रहरीले निष्पक्ष रुपमा अनुसन्धान गरिरहेको बताए । 

उक्त घटनाका विषयमा राष्ट्रिय मानव अधिकार आयोग कर्णाली प्रदेश कार्यालयले गम्भीरताका साथ स्थलगत अध्ययन अवलोकन र पीडित परिवार, सुरक्षा निकायका पदाधिकारीसँग भेटघाट गदै अनुसन्धानलाई निष्पक्ष छानबिन गर्न निर्देशन दिएको प्रदेश कार्यालयका प्रमुख रमेशकुमार थापाले बताए ।