काठमाडौं— स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले बागलुङको ढोरपाटन नगरपालिकामा दादुराको सङ्क्रमण देखिएपछि दादुरा विरुद्धको खोप सञ्चालन गर्ने भएको छ ।
नगरपालिका भित्रका १० देखि २० वर्ष उमेर समूहका करिब सात हजार बालबालिकालाई दादुरा विरुद्धको खोप लगाइने स्वास्थ्य सेवा विभागका बाल स्वास्थ्य तथा खोप शाखा प्रमुख डा. अभियान गौतमले जानकारी दिए।
उनका अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा हालै उक्त नगरपालिका–७, ८ र ९ का पाँच जनामा दादुरा सङ्क्रमण पुष्टि भएको छ । त्यसैगरी, ५६ जना शंकास्पद बिरामीलाई निगरानीमा राखिएको छ ।
शाखा प्रमुख गौतमले अहिले सङ्घ, प्रदेश कार्यालयबाट उक्त ठाउँमा चिकित्सकसहितको टोली पुगेर दादुरा महामारी नियन्त्रणको काम भइरहेको बताए। उनले यही फागुनको पहिलो साता भारतबाट आएका एक जना दादुरा सङ्क्रमितले दादुरा सारेको जानकारी दिए ।
दादुरा अत्यन्तै सङ्क्रामक भएकाले एक जना सङ्क्रमितले १८ जनासम्म सङ्क्रमण सार्न सक्दछ । शाखा प्रमुख गौतमले १४ बिरामीको दादुरा परीक्षणका लागि आवश्यक नमूना टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा पठाइएको बताए।
उनका अनुसार हाल त्यस क्षेत्रमा दादुराझैँ देखिने ३० जना बिरामी भर्ना भएका छन् ।






































