हेटौँडा— बागमती प्रदेश सरकारअन्तर्गत रहेको मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एमबिबिएस अध्यापन सुरु गरिएको छ । चिकित्सा शिक्षा आयोगबाट ५० सिटको स्वीकृति प्राप्त भएपछि प्रतिष्ठानले यसै शैक्षिक वर्षदेखि एमबिबिएस कार्यक्रम सञ्चालनमा ल्याएको हो ।
सोमबार नवप्रवेशी विद्यार्थीका लागि अभिमुखीकरण कार्यक्रम आयोजना गरिएको थियो । कार्यक्रममा बोल्दै बागमती प्रदेशका स्वास्थ्य मन्त्री किरण थापाले प्रदेशका विभिन्न पालिका स्तरमा बनेका अस्पतालमा चिकित्सक तथा स्वास्थ्यकर्मीको अभाव रहेको उल्लेख गर्दै उक्त अभाव पूर्ति गर्न एमबिबिएस कार्यक्रमले महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे ।
उनले नागरिकलाई व्यवस्थित स्वास्थ्य सेवा उपलब्ध गराउनु राज्यको संवैधानिक दायित्व भएको बताउँदै हेटौँडा अस्पतालसहित प्रादेशिक अस्पतालको सेवा–सुविधा हरेक वर्ष विस्तार गर्दै लगिएको जानकारी दिए ।
मन्त्री थापाले जिल्ला अस्पतालका रूपमा रहँदा र प्रतिष्ठान मातहत आएपछि हेटौँडा अस्पतालको सेवा र संरचनामा उल्लेखनीय सुधार आएको दाबी गरे हाल मकवानपुरसहित मधेस प्रदेशका पाँच जिल्लाबाट समेत बिरामी उपचारका लागि हेटौँडा आउने गरेको उनको भनाइ छ । साथै, प्रतिष्ठानबाट अध्ययन पूरा गर्ने विद्यार्थी अन्य प्रतिष्ठानका भन्दा अब्बल चिकित्सकका रूपमा निस्कने अपेक्षा व्यक्त गर्दै हेटौँडालाई स्वास्थ्य क्षेत्रको शैक्षिक हबका रूपमा विकास गर्ने प्रदेश सरकारको लक्ष्य रहेको बताए ।






































