काठमाडौं— सशस्त्र प्रहरी बल नेपालका महानिरीक्षक राजु अर्यालले प्रतिनिधिसभा सदस्य निर्वाचनको सुरक्षा सफलतापूर्वक सम्पन्न गराएकोमा सम्पूर्ण सशस्त्र प्रहरी कर्मचारीलाई धन्यवाद दिएका छन्।

सोमबार सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालयमा विभाग प्रमुख, अनुगमनमा खटिएका अधिकृत तथा भर्चुअल माध्यमबाट सहभागी प्रदेशका बाहिनीपति र कार्यालय प्रमुखहरुलाई सम्बोधन गर्दै उनले निर्वाचन सुरक्षामा देखाएको सक्रियता र जिम्मेवारीको प्रशंसा गरे।

फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचन सुरक्षा फौजका लागि अग्नि परीक्षा सरह भए पनि सशस्त्र प्रहरीको पेशागत दक्षताका कारण सफलतापूर्वक सम्पन्न भएको उनले बताए।

महानिरीक्षक अर्यालले संगठनको अनुशासन र तटस्थ छवि कायम राख्न कर्मचारीहरुलाई निर्देशन दिँदै सीमामा परिचालन हुँदा सम्बन्धित निकायसँग समन्वय गरेर काम गर्न आग्रह गरेका छन्।