नेपालगञ्ज— कर्णाली तथा दुर्गम जिल्लाका नागरिकले वर्षौंदेखि भोग्दै आएको यातायातको समस्या केही सहज हुने संकेत देखिएको छ। केही दिनअघि नेपालगञ्जमै जहाज राखेर नियमित हवाई सेवा सञ्चालन गर्न माग उठाएका जेनजी अनिल बानियाको पहलपछि यसतर्फ महत्वपूर्ण कदम अघि बढाइएको हो।
उक्त पहलपछि नेपाल एयरलाइन्सले नेपालगञ्ज र सुर्खेतबाट दैनिक उडान सेवा सञ्चालन गर्ने व्यवस्था मिलाएको जानकारी दिइएको छ। यस निर्णयसँगै दुर्गम क्षेत्रका हजारौँ नागरिकलाई आवतजावतमा सहजता हुने अपेक्षा गरिएको छ।
कर्णाली र आसपासका दुर्गम जिल्लाका बासिन्दाले लामो समयदेखि स्वास्थ्य उपचार, शिक्षा तथा अन्य अत्यावश्यक कामका लागि यात्रा गर्दा ठूलो कठिनाइ झेल्दै आएका थिए। नियमित हवाई सेवा सुरु भएपछि उनीहरूको दैनिक जीवनमा केही सहजता आउने विश्वास गरिएको छ।
यस विषयमा प्रतिक्रिया दिँदै जेनजी अनिल बानियाँले केवल शब्दले परिवर्तन नआउने उल्लेख गर्दै व्यवहारिक कदमले मात्र परिणाम दिने बताए। उनले भने, “आजको यो सानो सुरुवातले दुर्गम भेगका हजारौँ नागरिकको पीडामा केही मलम लगाउने विश्वास जागेको छ।”
उनले आगामी दिनमा पनि जनताको सुविधा र न्यायका लागि निरन्तर आवाज उठाइरहने प्रतिबद्धता व्यक्त गरेका छन्।
नियमित उडान सेवा सुरु भएसँगै कर्णाली क्षेत्र र आसपासका दुर्गम जिल्लाका नागरिकको आवतजावत थप सहज हुने अपेक्षा गरिएको छ।






































