काठमाडौं— गैरआवासीय नेपाली संघ (एनआरएनए) को १२औँ महाधिवेशनको मिति नजिकिएपनि अन्योलता भने कायम छ ।

महाधिवेशनका लागि भन्दै केही आकांक्षीहरु संघीय राजधानी काठमाडौं आउन थालेका छन् । फागुन ३० गतेदेखि सुरु हुने भनिएको महाधिवेशनका लागि एनआरएनए अभियन्ताहरू काठमाडौंमा भेला हुन थालेका हुन् ।

संघभित्र महाधिवेशन र नेतृत्व चयनका सन्दर्भमा विभिन्न विवादहरू सतहमा देखिए पनि चुनावी तयारी निर्वाचन समितिले रोकेको छैन ।

यही क्रममा अध्यक्षका आकांक्षी रोविन शेरचन जापानबाट काठमाडौं आइपुगेका छन् । उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा एनआरएनएका उपमहासचिव प्रवीन गुरुङसहितका अभियन्ताहरूले स्वागत गरेका थिए ।

विशेषगरी एनआरएनएको डेलिगेट्स चयन लगायतका प्राविधिक र कानुनी विषयमा सहमति नजुट्दा तोकिएको समयमा महाधिवेशन हुने कि नहुने भन्ने विषयमा अझै अन्योलता कायम छ ।

अध्यक्षका उम्मेदवार शेरचनले पनि विवादित विषयहरूलाई पहिले सम्बोधन गरेर मात्रै एकताको महाधिवेशन गरिनुपर्ने अडान राख्दै आएका छन् । उनले केही दिनअघि मात्रै संस्था बचाउन र एकता कायम गर्न एक सार्वजनिक अपिल समेत जारी गरेका थिए ।