हेटौँडा— प्रतिनिधिसभा निर्वाचन अन्तर्गत मकवानपुर जिल्लाका दुवै निर्वाचन क्षेत्रको मतगणना आजबाट सुरु गरिने भएको छ ।
बिहीबार सम्पन्न मतदानपछि मतपेटिकाहरू सुरक्षित रूपमा मतगणना स्थलमा ल्याएर राखिएको र सर्वदलीय बैठकपछि मतगणना सुरु गर्न लागिएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार मकवानपुर क्षेत्र नम्बर–१ र क्षेत्र नम्बर–२ का सबै मतदान केन्द्रबाट मतपेटिका संकलन गरी हेटौँडास्थित भुटनदेवी माध्यमिक विद्यालयमा ल्याइ सकिएको र सुरक्षित रूपमा राखिएको छ। सर्वदलीय बैठक बसेर मतगणनाको प्रक्रिया, गणना स्थलको व्यवस्थापन तथा प्रतिनिधिहरूको उपस्थितिबारे सहमति भएपछि आजबाट मतगणना सुरु गरिने तयारी गरिएको हो ।
मतगणनाका लागि आवश्यक सुरक्षाको प्रबन्ध मिलाइएको छ । गणना स्थलमा नेपाल प्रहरी, सशस्त्र प्रहरी र अन्य सुरक्षाकर्मीको कडा सुरक्षा व्यवस्था गरिएको छ भने सिसिटिभी क्यामेरासहित तार जाली लगाएर गणना स्थललाई व्यवस्थित बनाइएको छ ।





































