काठमाडौं— पछिल्ला केही वर्षयता भारतमा समेत ठूलो परिमाणमा स्मार्टफोन उत्पादन हुँदै आए पनि नेपालमा भने चीनबाट हुने आयातको हिस्सा उल्लेखनीय रूपमा बढेको देखिएको छ । भन्सार विभागको चालू आर्थिक वर्षको पहिलो सात महिनाको तथ्यांकले चीनबाट आयात भएका स्मार्टफोनको हिस्सा अझै बढेको पुष्टि गरेको छ । विभागको तथ्यांकअनुसार चालू आर्थिक वर्षको पहिलो सात महिनामा चीनबाट मात्रै १२ लाख ४ हजार ५७७ ओटा स्मार्टफोन आयात भएका छन् ।

यो संख्या उक्त अवधिमा आयात भएका कुल स्मार्टफोनको ८५.१३ प्रतिशत हो । गत आर्थिक वर्षको सोही अवधिमा चीनबाट ९ लाख ५३ हजार २१६ थान स्मार्टफोन आयात भएका थिए, जुन कुल आयातको ७७.५० प्रतिशत थियो ।

गत आर्थिक वर्षको पहिलो सात महिनामा कुल १२ लाख २९ हजार ९५७ ओटा स्मार्टफोन आयात भएका थिए । तर चालू आर्थिक वर्षको सोही अवधिमा कुल आयात १४ लाख १४ हजारभन्दा बढी पुगेको छ, जुन अघिल्लो वर्षको तुलनामा झन्डै २ लाखले बढी हो । चिनियाँ ब्रान्डहरू जस्तै साओमी, भिभो, ओप्पो, अनर र रियलमिका साथै अमेरिकी एप्पल तथा दक्षिण कोरियाली ब्रान्ड सामसुङका केही मोडेलहरू भारतमै एसेम्बल हुने भए पनि भारतबाट नेपालमा हुने आयात घट्दो क्रममा रहेको देखिन्छ । गत आर्थिक वर्षको पहिलो सात महिनामा भारतबाट २ लाख ७२ हजार ६६ ओटा स्मार्टफोन आयात भएका थिए । तर चालू आर्थिक वर्षको सोही अवधिमा भारतबाट २ लाख ४ हजार ६५८ ओटा मात्रै स्मार्टफोन भित्रिएका छन्, जुन कुल आयातको १४.४६ प्रतिशत मात्र हो ।

विगतमा भियतनामबाट पनि नेपालमा ठूलो परिमाणमा स्मार्टफोन आयात हुने गरेको थियो । यता भारत सरकारले चालू आर्थिक वर्ष २०२६/२७ को बजेटमार्फत इलेक्ट्रोनिक उद्योग प्रवद्र्धनका लागि सरकारी बजेट वृद्धि गरेको भए पनि त्यसको प्रभाव नेपाली बजारमा भने हालसम्म स्पष्ट देखिएको छैन । यसरी समग्रमा स्मार्टफोनको कुल आयात बढिरहेको अवस्थामा चीनको बजार हिस्सा झन् सुदृढ बन्दै गएको छ भने भारतबाट हुने आयातको अनुपात घट्दै गएको तथ्यांकले देखाएको छ ।