काठमाडौं— नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले मुस्लिम धर्मावलम्वीहरूका लागि पवित्र रमजान महिनाको अवसरमा शुभकामना व्यक्त गरेका छन् ।
बिहीबार शुभकामना सन्देश मार्फत उनले सम्पूर्ण मुस्लिम दाजुभाइ तथा दिदीबहिनीहरूमा रमजान महिना (निराहार व्रत) मनाउने अवसरमा सुख, शान्ति र आध्यात्मिक उन्नति प्राप्त होस् भन्ने कामना व्यक्त गरेका हुन् ।
इस्लामिक पात्रो (हिजरी संवत्) अनुसार नवौँ महिना ‘रमजानुल मुबारक’ मा मुस्लिम धर्मावलम्वीहरूले एक महिनासम्म रोजा बस्ने परम्परा रहेको छ । यस पवित्र महिनामा विशेष गरी कुरानको वाचन, नमाज पढ्ने र गरिब तथा विपन्नहरूलाई सहयोग गर्ने धार्मिक अभ्यास गरिन्छ ।
‘रोजा बस्नाले मानिसमा आज्ञापालन, अनुशासन, नम्रता, सत्यनिष्ठा, संयम, सहनशीलता, सदाचार, त्याग, परोपकार, दया र दानशीलता जस्ता सद्गुणको विकास हुने भएकाले रमजानको महत्व अत्यन्तै विशेष, सद्भावपूर्ण र आध्यात्मिक रहेको छ,’ थापाले भनेका छन् ।
उनले यस महान् पर्वले सबैमा शान्ति, सहिष्णुता, संयमता र आध्यात्मिक उन्नति ल्याओस् भन्ने कामना व्यक्त गर्दै पवित्र रमजानको पुनः मंगलमय शुभकामना व्यक्त गरेका छन् ।






































