मुगु— पशुपालनलाई मुख्य आम्दानीको स्रोत बनाउँदै आएका मुगुबासी यतिबेला चिन्तित बनेका छन्। जिल्लाको सोरु गाउँपालिका वडा नम्बर १० र ११ का कृषकहरूले पाल्दै आएका भेडा–बाख्रा अज्ञात रोगको चपेटामा परेपछि धमाधम मर्न थालेका हुन्।
पुस र माघ महिनादेखि भेडा–बाख्रामा टाउको र घाँटी सुनिने, रौं खुइलिने, पखाला लाग्ने तथा हिँडडुल गर्न गाह्रो हुने जस्ता लक्षण देखिएको कृषकहरूले बताएका छन्। हालसम्म विभिन्न गोठबाट २० देखि ३० वटासम्म भेडा मरेका छन् भने समग्रमा १ सय ५० भन्दा बढी भेडा–बाख्रा मरिसकेको प्रारम्भिक अध्ययनले देखाएको छ।
स्थानीय कृषक पूर्णबहादुर मल्लका अनुसार उनीहरू तीन पुस्तादेखि भेडापालन व्यवसायमा संलग्न छन्। “६० वटा भेडामा एकैपटक समस्या देखियो। घरेलु औषधि प्रयोग गर्यौं, एग्रोभेटबाट औषधि पनि ल्यायौं, तर सुधार भएन। प्रत्येक गोठबाट २०–३० वटासम्म मरेपछि निकै निराश भएका छौं,” उनले भने। उनका अनुसार समाचार बाहिरिएपछि मात्रै सम्बन्धित निकायको ध्यानाकर्षण भएको हो।
समाचार सार्वजनिक भएपछि जिल्ला पशु अस्पताल तथा पशु सेवा कार्यालय र प्रदेश प्रयोगशालाबाट औषधिसहितको टोली प्रभावित क्षेत्रमा पुगेको छ। टोलीले गोठमै पुगेर उपचार गर्नुका साथै रोगको पहिचानका लागि नमूना संकलन गरी अनुसन्धान गरिरहेको जनाएको छ।
गाउँपालिकाका अध्यक्ष धर्मबहादुर शाहीले प्रभावित क्षेत्रमा पशु स्वास्थ्य टोली परिचालन गरिएको र ल्याब परीक्षणको रिपोर्ट आएपछि थप उपचार तथा नियन्त्रणका उपाय अवलम्बन गरिने जानकारी दिए। त्यस्तै जिल्ला पशु अस्पताल तथा पशु सेवा कार्यालय मुगुका प्रमुख भीमचन्द्र बुढाले पनि विस्तृत अध्ययनपछि मात्रै रोगको यकिन पहिचान हुने बताएका छन्।
रोगको कारण नखुलेसम्म कृषकहरू त्रासमा रहेका छन् भने समयमै रोग नियन्त्रण नभए पशुपालन व्यवसायमा ठूलो क्षति पुग्ने स्थानीयको चिन्ता छ।






































