काठमाडौं— भानु माध्यमिक विद्यालय ‘दरबार हाई स्कुल’को १७२औँ स्थापना दिवस तथा अभिभावक दिवसको अवसरमा विशेष समारोह सम्पन्न भएको छ। कार्यक्रममा काठमाडौं महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोललगायत विशिष्ट व्यक्तिहरूको सहभागिता रहेको थियो।
समारोहमा विद्यालयको शैक्षिक यात्रा, योगदान तथा भावी योजनाबारे चर्चा गरिएको थियो। वक्ताहरूले दरबार हाई स्कुलले नेपाली शिक्षाको इतिहासमा खेलेको भूमिकाको प्रशंसा गर्दै गुणस्तरीय शिक्षा र मूल्य–मान्यतामा आधारित शिक्षालाई निरन्तरता दिनुपर्नेमा जोड दिएका थिए।
कार्यक्रममा विद्यार्थीहरूले सांस्कृतिक प्रस्तुति प्रस्तुत गरेका थिए भने अभिभावक, शिक्षक तथा विद्यार्थीहरूको उल्लेख्य उपस्थिति रहेको थियो। समारोहले विद्यालय, अभिभावक र विद्यार्थीबीचको सम्बन्ध अझ सुदृढ बनाएको सहभागीहरूको भनाइ थियो।





































