जनकपुर— मधेश प्रदेश सभाको आठौं वार्षिकोत्सवको तयारी अन्तिम चरणमा पुगेको छ । माघ २१ गत्ते (भोलि) मनाउन लागिएको आठौं वार्षिकोत्सव कार्यक्रमका निम्ती मधेश प्रदेश सभाका सम्पूर्ण कर्मचारीहरु व्यस्त देखिएका छन् ।
यस तीन दिन विभिन्न कार्यक्रमहरु गरी वार्षिकोत्सव मनाउने तय भएको मा हिजो (सोमबार) मधेश प्रदेश सभा परिसरको सरसफाई एवम वृक्षारोपन कार्यक्रम गरिएको थियो ।
त्यस्तै आज प्रदेश सभाका सांसद र कर्मचारीहरुबीच चेस, ब्याडमिन्टन र म्युजिकल चेयर लगायतका खेलहरुको प्रतिस्पर्धा हुने प्रदेश सभाद्वारा जारी तालिकामा उल्लेख रहेको छ । त्यस्तै आजै प्रदेश सभाको तर्फबाट जनकपुरधामस्थित मानव सेवा आश्रम, वृद्धा आश्रम र कबिर बाल आश्रमलाई सहयोग हस्तान्तरण गर्ने कार्यक्रम समेत रहेको छ ।
बुधबार मधेश प्रदेश सभाको आठौं वार्षिकोत्सवको मुख्य दिन बिहान रक्तदान कार्यक्रम हुनेछ भने दिउँसो १२ः३० बजेदेखि मूल समारोह सुरु हुने प्रदेश सभाले जारी गरेको तालिकामा उल्लेख रहेको छ ।
यस वर्षको वार्षिकोत्सवलाई फरक र अविस्मरणिय बनाउनका निम्ति मैथिली संस्कृति झल्काउने माटोले लिपेको स्टेज बनाइएको छ भने विभिन्न स्थानीय भाषाका सांस्कृतिक कार्यक्रमहरुको प्रस्तुती हुने जनाइएको छ ।
वार्षिकोत्सवको मूल समारोहमा प्रदेश सभाका कर्मचारीलगायत विभिन्न व्यक्तिहरुलाई सम्मान गर्ने कार्यक्रमसमेत रहेको छ ।






































