काठमाडौं— उपचारका क्रममा आइतवार दिउँसो १२ः४५ बजे ग्राण्डी इन्टरनेशनल अस्पतालमा निधन भएका पत्रकार दिनेश सिटौलाको अन्त्येष्टि पूर्व पोस्टमार्टम गर्न प्रहरीले सुझाव दिएपछि परिवार छलफलमा जुटेको छ ।
अस्पतालले ब्रेन ह्यामरेजका कारण मृत्यु भएको स्पष्ट गरिसकेको भए पनि प्रहरीले भविष्यमा कुनै कानुनी प्रक्रिया अघि बढ्न सक्ने सम्भावनालाई मध्यनजर गर्दै पोस्टमार्टम आवश्यक पर्ने तर्क अघि सारेको हो ।
ग्राण्डी अस्पतालमै पुगेका प्रहरी अधिकारीहरूले परिवारलाई पोस्टमार्टमको महत्वबारे बुझाएका थिए । डीएसपी नवराज पोखरेलले आवश्यक परेमा अनुसन्धान वा कानुनी प्रक्रियाका लागि पोस्टमार्टम रिपोर्ट आधार बन्ने भएकाले यसतर्फ ध्यान दिन आग्रह गरेका छन् ।
यसअघि अस्पतालको आधिकारिक मेडिकल निष्कर्ष आइसकेकाले पोस्टमार्टम नगराउने अडानमा रहेको परिवार प्रहरीको सुझावपछि आन्तरिक छलफलमा बसेको छ । अहिले परिवारका केही सदस्य पोस्ट मार्टम प्रकृयाका बारेमा बुझ्न महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालतर्फ गएका छन् ।
राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र साह ९बालेन० को टोलीसँग अछाम गएका पत्रकार सिटौला त्यहाँ अचानक बेहोस भएपछि शुक्रवार दिउँसो काठमाडौं ल्याइएका थिए । ग्राण्डी अस्पतालको आइसीयूमा भेन्टिलेटरमा राखेर उपचार गरिए पनि स्वास्थ्य अवस्थामा सुधार नआएपछि आज चिकित्सकले उनलाई मृत घोषणा गरेका हुन् ।
प्रहरीले पोष्ट मार्टम गर्न सुझाएपछि दिवंगत पत्रकार सिटौलाको अन्त्येष्टि आइतवार हुने अथवा नहुने बारेमा समेत अन्यौलता सिर्जना भएको छ । अस्पताल परिसरमै रहेका एक जना पत्रकारले सम्भवतः सोमवारमात्र अन्त्येष्टि हुन सक्ने सम्भावना व्यक्त गरेका छन् ।



































