काठमाडौं— सहिद धर्मभक्त माथेमाले सहादत प्राप्त गरेको स्थान काठमाडौंको सिफल उकालोमा मंगलबार स्मृति सभा गरिएको छ ।

सहिद सप्ताह आयोजक समितिको आयोजनामा प्रजातन्त्र प्राप्तिका लागि धर्मभक्त माथेमाले अमरत्व प्राप्त गरेको दिन र स्थानमा स्मृति सभा गरिएको हो ।

सभा गरिएको स्थानभन्दा करिब पाँच मिटर पूर्वमा २०५३ सालमा माथेमाको अर्धकदको सालिक स्थापना गरिएको थियो । सडक विस्तारका क्रममा शालिक भत्काउनुपर्ने भएपछि सालिकलाई साबिकभन्दा पश्चिमतर्फ सारिएको थियो । यसरी सार्ने क्रममा पुरानो कालो रङ्गको अर्ध कदको प्रस्तर शालिकको सट्टा नयाँ सेतो रङ्गको ढलोटको सालिक बनाइएको थियो ।

यस स्थानलाई सुधार गर्दै महानगरले २०७६ सालमा पूर्ण कदको सालिकसहित पूर्वाधार विकास गरेको छ । यही स्थानमा स्मृति सभा गरिएको हो ।

सहिदको सालिकमा पुष्पगुच्छा अर्पण गर्दै सहिद सप्ताह मूल समारोह समितिका संयोजक एवं काठमाडौं महानगरपालिका कार्यवाहक प्रमुख सुनिता डंगोलले, विगतको शासनमा नागरिकले भोग्नु परेका क्रुरता, असमानता तथा कुष्ठित अवस्था नवपुस्ताले अनुभूति गर्नु नपरोस् भन्नका लागि सहिदको संघर्ष र बलिदानी स्मरण गर्न कार्यक्रम आयोजना गरिएको बताइन् ।