काठमाडौं— आईसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोट अन्तर्गत कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आज भएको रोमाञ्चक खेलमा नेपाल नेदरल्याण्ड्ससँग २ रनले पराजित भएको छ ।

जितका लागि १४१ रनको चुनौतीपूर्ण लक्ष्य पछ्याएको नेपालले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १३८ रन मात्र बनाउन सक्यो, जसका कारण नेपालले घरेलु मैदानमा स्तब्धकारी हार बेहोर्नुपरेको छ । यो नेपालको लगातार दोस्रो हार हो ।

नेपालकी रुविना क्षेत्रीले सर्वाधिक ३७ रन बनाइन् । उनले ३२ बलमा पाँच चौका प्रहार गरिन् । सीता रानामगरले १२ बलमा चार चौका र एक छक्कासहित २७ रन बनाए पनि टिमको हार टार्न सकिनन् । नेपाललाई अन्तिम ओभरमा जितका निम्ति १३ रनको आवश्यकता थियो । तर, क्रिजमा रहेका रुविना र सीताले १० रनमात्र बनाउन सके ।

यसबाहेक, ओपनर विन्दु रावलले १८, सम्झना खड्काले १४ र कविता जोशीले १३ रन थपे । नेदरल्यान्ड्सकी इशाबेल भान डेर वोनिङले तीन विकेट लिइन् । क्यारोलिन डे लिंगे, सिल्भर सेजर्स र रोविन रिकेले समान एक विकेट लिए ।

त्यसअघि टस जितेर ब्याटिङमा आएको नेदरल्यान्ड्सले निर्धारित २० ओाभरमा पाँच विकेट गुमाएर १४० रनको योगफल खडा गरेको थियो । नेदरल्यान्ड्सकी कप्तान बाबेटे डे लिडेले सर्वाधिक ४९ रन बनाइन् ।

स्टेर कालिसले ३०, रोविन रिकेले १९ र एरिस ज्विलिङले १४ रन थपे । नेपालकी रुविना क्षेत्रीले दुई विकेट लिइन् । सोमु विष्ट, पूजा महतो र रिया शर्माले समान एक विकेट लिए । यसअघि, प्रतियोगिताको आफ्नो पहिलो खेलमा नेपालले थाइल्यान्डसँग आठ विकेटको हार व्यहोरेको थियो । नेपालले अब जनवरी २४ मा जिम्बाब्वेविरुद्ध प्रतिस्पर्धा गर्नेछ ।