काठमाडौं— नेपाललाई विगत २५ वर्षदेखि इन्टरनेट तथा टेलिभिजन सेवामार्फत जोड्दै आएको सुविसु लिमिटेडले नीलसागर सेवा आश्रममा निःशुल्क वाइफाई जडान गरिदिएको छ । २५ औं वार्षिकोत्सवको अवसरमा सामाजिक उत्तरदायित्व (सीएसआर)अन्तर्गत निस्शुल्क वाइफाई जडान गरिएको कम्पनीले जनाएको छ ।

नीलसागर सेवा आश्रमले वृद्धवृद्धा तथा अनाथ बालबालिकालाई आश्रय दिँदै आएको छ । सो आश्रममा २५० भन्दा बढीले आश्रय पाएका छन् । तीमध्ये ८० भन्दा बढी बालबालिका र १५० भन्दा बढी वृद्धवृद्धा छन् ।

निशुल्क वाइफाई केवल इन्टरनेट कनेक्सन मात्र नभई उनीहरूलाई समाज र संसारसँग जोड्ने एउटा महत्त्वपूर्ण माध्यम पनि हो’ सुविसुले एक विज्ञप्तिमार्फत भनेको छ ‘यसले सूचना, शिक्षा, मनोरञ्जन र सम्पर्कको अवसर प्रदान गर्दै उनीहरूको दैनिक जीवनलाई सहज बनाउने अपेक्षा छ ।’

२५ औं वर्षको अवसरमा कम्पनीले देशका विभिन्न स्थानमा सेवा तथा राहत वितरण कार्यक्रम पनि सञ्चालन गर्दै आएको छ ।

यसै वर्ष कम्पनीले हिंशी राम जैसवाल अनाथ आश्रम, गरुडा तथा अमृता अनाथ आश्रम, कलैयामा राहत तथा आवश्यक सामग्री वितरण गरेको थियो । जसमा गरुडाका २३ जना र कलैयाका १७ जना बालबालिकाहरूलाई सहयोग पु‍र्‍याएको थियो ।

यसका साथै, सुविसुले २५ वर्षको अवसरमा धादिङ जिल्लाको बाहिरा विद्यालयमा निःशुल्क इन्टरनेट जडान गरी शिक्षा र प्रविधिलाई जोड्ने पहल समेत गरेको छ ।

कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) विनय मोहन साउदले केवल प्रविधि विस्तार मात्र नभई समाजप्रतिको जिम्मेवारीलाई पनि सँगसँगै अघि बढाउँदै लगिएको बताए ।