काठमाडौं— गोरखा नगरपालिका–१४ मा परालको थुप्रोमा उम्रिएको च्याउ खाँदा एउटै परिवारका चार जना बिरामी परेका छन्। विषालु च्याउको तरकारी खाएपछि ३० वर्षीया हीरा पहरी र उनका तीन सन्तान बिरामी भएका हुन्।
मकवानपुरको बागमती नगरपालिका–१३ स्थायी घर भएकी पहरी हाल गोरखामा डेरा गरी बस्दै आएकी थिइन्। सोमबार साँझ घर नजिकैको परालको टौवामा उम्रिएको च्याउ टिपेर पकाएर खाएपछि उनीहरूमा पेट दुख्ने, वाकवाकी लाग्ने र अत्यधिक थकान लाग्ने जस्ता लक्षण देखिएको थियो।
बिरामी पर्नेहरूमा १२ वर्षीय किसान, ६ वर्षीय हिमाल र ५ वर्षीया सुजिता रहेका छन्। सबैलाई तत्काल उपचारका लागि तनहुँको आबुखैरेनी गाउँपालिका अस्पताल पुर्याइएको र हाल उनीहरूको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ।
घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ।






































