काठमाडौं— अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) अन्तर्गत अर्को महिनामा हुने टी–ट्वान्टी विश्वकप ट्रफी नेपाल ल्याइएको छ । सो टी–ट्वान्टी विश्वकप ट्रफी राष्ट्रपति निवासमा सोमबार सार्वजनिक गरियो । राष्ट्रपति रामचन्द्र पौडेलले टी–ट्वान्टी विश्वकपको ट्रफी अनावरण गरेका छन्।

राष्ट्रपतिले विश्वकप ट्रफी नेपाल आउनु देशका लागि गौरवपूर्ण क्षण भएको बताए । उनले यस ऐतिहासिक अवसरले नेपाल विश्व क्रिकेटको केन्द्रतर्फ अग्रसर भइरहेको सन्देश विश्वभर फैलिएको बताए।

राष्ट्रपति पौडेलले भने– ‘नेपाल आज खेलप्रेमी राष्ट्रका रूपमा सशक्त तवरले स्थापित हुँदैं गएको छ, क्रिकेटले देशलाई एकतामा बाँध्ने महत्वपूर्ण भूमिका निर्वाह गरेको छ । यसको व्यावसायिक विकाससँगै खेल क्षेत्रमार्फत् नेपाली युवाहरूको उज्ज्वल भविष्य निर्माण हुने आधारसमेत सुदृढ बन्दै गएको छ ।’

उनले नेपालमा विश्वकप ट्रफी ल्याउन पहल गरेकोमा आईसीसीलाई धन्यवाद पनि व्यक्त गरे । साथै उनले नेपालमा माघमा हुन लागेको महिला टी–ट्वान्टी विश्वकपको ग्लोबल छनोटमा सहभागी हुने तथा पुरुष टी–ट्वान्टी विश्वकपमा सहभागी हुने नेपालका महिला र पुरुष टोलीलाई शुभकामना पनि दिए।

नेपालमा विश्वकप प्रतियोगिताको ट्रफी सार्वजनिक गरिएको यो पहिलो अवसर भने होइन । यसअघि नेपालमा एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट (ओडीआई) को विश्वकप ट्रफी टुर गरिएको थियो । क्रिकेटभन्दा पहिले नेपालमा रामवरण यादवको राष्ट्रपतिकालमा फिफाको विश्वकप फुटबल ट्रफीसमेत टुर गरिएको थियो ।

टी–ट्वान्टी विश्व कप ट्रफी तीन दिनसम्म नेपालमा रहनेछ । प्रतियोगिता भारत र श्रीलंकामा अर्को महिना फेबु्रवरी ७ देखि सुरु हुँदै छ । यसपटक नेपालले पनि सो विश्वकपमा सहभागिता जनाउँदै छ । यो फरम्याटको विश्वकपमा नेपालको तेस्रो सहभागिता हुनेछ । यसअघि गत टी–ट्वान्टी क्रिकेटअन्तर्गतको विश्वकप २०१४ / २०२४ का संस्करणमा नेपाली टोलीले सहभागिता जनाएको थियो ।

यसपटक नेपालको समूहमा इंग्ल्यान्ड, बंगलादेश, वेस्ट इन्डिज र इटाली रहेका छन् । तर, बंगलादेश र भारतबीचको राजनीतिक सम्बन्ध चिसो भएको हुँदा बंगलादेश टोलीले खेल्ने नखेल्ने टुंगो लागेको छैन ।

बंगलादेश क्रिकेट बोर्डले भारतमा गएर यस टी–ट्वान्टी विश्वकपका खेलहरू नखेल्ने बताइसकेको छ । यसअनुसार हेर्ने हो भने बंगलादेशले विश्वकप खेल्न नसक्ने बढी सम्भावना देखिएको छ ।

बंगलादेश क्रिकेट बोर्डले आईसीसीलाई भेन्यु अर्को सहआयोजक राष्ट्र श्रीलंकामा सार्न दिएको निवेदनमा आईसीसीले अहिलेसम्म कुनै प्रतिक्रिया जनाएको छैन । जबकि, बंगलादेशका समूहअन्तर्गत चारै खेल भारतमै हुने खेलतालिका रहेको छ । नेपालको बंगलादेशविरुद्धको खेल मुम्बईको वानखेडे रंगशालामा १७ फेबु्रवरीमा हुँदै छ ।