काठमाडौं— मेकअप आर्टिस्ट टेकराज पाण्डेद्वारा सञ्चालित ‘मिस एण्ड मिसेस ब्युटिफुल नेपाल’ प्रतियोगिता २०१५ देखि सुरु भएको हो ।

सपनामा देखेको अवधारणालाई बिपनामा उतार्ने लक्ष्यसहित सुरु गरिएको कार्यक्रम सुरुका दिनमै नाकाबन्दी जस्तो कठिन परिस्थितिमा पनि सफलतापूर्वक सम्पन्न भएको आयोजक पाण्डेले बताए ।

हाल साथीभाइ र शुभेच्छुकहरूको सल्लाह तथा सहयोगले कार्यक्रम अघि बढाउन हौसला मिलेको उनको भनाइ छ ।

प्रतियोगिताको मूल उद्देश्य सौन्दर्य मात्र नभई सामाजिक उत्तरदायित्वसँग जोडिएको रहेको पाण्डेको भनाइ छ ।

‘ब्यूटिफुल’ शीर्षक मेकअप आर्टिस्टको पहिचानसँग जोडिए पनि भविष्यमा यसलाई एउटा ब्रान्डका रूपमा स्थापित गर्दै समाजसेवा, वृद्धाश्रम सहयोग तथा विभिन्न संघ–संस्थालाई समर्थन गर्ने लक्ष्य राखिएको छ ।

पहिचान र नामसँगै समाजका लागि केही योगदान गर्न सकियोस् भन्ने सोचले कार्यक्रम निरन्तर अघि बढाइएको पाण्डेले स्पष्ट पारे ।

प्रतियोगिताले महिलाको आत्मविश्वास, व्यक्तित्व विकास र लुकेका प्रतिभालाई उजागर गर्न महत्वपूर्ण भूमिका खेल्दै आएको छ ।

गाउँदेखि शहरसम्मका महिलाहरूमा बोल्ने क्षमता, आत्मविश्वास, नेतृत्व र सकारात्मक सोच विकास गराउने प्लेटफर्मको रूपमा यो कार्यक्रम स्थापित हुँदै गएको छ ।

मिससँगै मिसेस श्रेणी समावेश गर्नुको उद्देश्य विवाहित महिलालाई पनि समान अवसर दिनु रहेको पाण्डेले बताए ।

विवाहित भएपछि पनि महिलाले आफ्नो क्षमता देखाउन, आत्मनिर्भर बन्न र समाजमा योगदान दिन सक्छन् भन्ने सन्देश प्रवाह गर्न मिसेस श्रेणी थपिएको हो ।

हाइट, उमेर वा सामाजिक सीमाका कारण पछि हटिरहेका महिलाहरूका लागि यो एउटा सशक्त प्लेटफर्म बनेको छ ।

सहभागीहरूको सशक्तिकरणका लागि करिब एक महिनासम्म विविध तालिम प्रदान गरिन्छ । यस अवधिमा कोरियोग्राफी, व्यक्तित्व विकास, बोल्ने कला लगायतका तालिमहरू सञ्चालन गरिन्छ भने विभिन्न क्षेत्रका प्रशिक्षक तथा सेलिब्रिटीहरूद्वारा विशेष प्रशिक्षण दिइन्छ । सहभागीहरूको सिकाइ क्षमता र मेहनतकै आधारमा उनीहरूको प्रगति मूल्याङ्कन गरिन्छ ।

ग्रान्ड फिनालेमा विजेता छनोट प्रश्न उत्तर प्रणालीमार्फत गरिन्छ । प्रारम्भिक चरणमा सहभागीहरूलाई पहिल्यै प्रश्न दिइन्छ भने अन्तिम चरणमा निर्णायक मण्डलद्वारा सोधिएको प्रश्नको उत्तरका आधारमा विजेता, फस्र्ट रनरअप लगायतका शीर्षक प्रदान गरिन्छ ।

आयोजकका अनुसार मिस ब्युटिफुल नेपाल सिजन ११ र मिसेस ब्युटिफुल नेपाल सिजन १० को तयारी भइरहेको छ र इच्छुकले आधिकारिक पेजमार्फत आवेदन दिन सक्ने पाण्डेले बताए ।