काठमाडौं— अस्पतालको वार्डमै बिरामीलाई मुक्का हान्दै गरेको भिडियो भाइरल भएपछि भारतको हिमाचल प्रदेशस्थित एक सरकारी अस्पतालका चिकित्सक निलम्बित भएका छन्।
शिमलाको इन्दिरा गान्धी मेडिकल कलेज तथा अस्पताल (आईजीएमसी) का सिनियर रेजिडेन्ट चिकित्सक डा. राघव नरुलाविरुद्ध प्रहरीले फौजदारी मुद्दा दर्ता गरेको छ। भिडियोमा चिकित्सकले बेडमा सुतिरहेका बिरामीमाथि कुटपिट गरिरहेको देखिन्छ।
घटनापछि अस्पताल प्रशासनले तीन सदस्यीय छानबिन समिति गठन गरेको छ। हिमाचल प्रदेश सरकारले घटनालाई गम्भीर र अस्वीकार्य भन्दै दोषीमाथि कडा कारबाही हुने जनाएको छ।
बिरामीले सम्मानजनक व्यवहार माग्दा विवाद बढेको दाबी गरेका छन् भने चिकित्सकले आत्मरक्षामा प्रतिक्रिया दिएको बताएका छन्। घटनाले प्रदेशमा राजनीतिक र स्वास्थ्य क्षेत्रसम्बन्धी बहससमेत चर्काएको छ।






































