काठमाडौं— सरकारका प्रवक्ता तथा सञ्चारमन्त्री जगदीश खरेलले एमाले अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटवार्ता गरेका छन्। ओली निवास गुण्डुमा दुवैबीच भेटघाट भइरहेको छ।
आगामी निर्वाचनको वातावरण सहज बनाउन सरकारले ठूला दल र प्रमुख नेतासँग सम्बन्ध सुधारमा जोड दिँदै संवाद प्रक्रिया अघि बढाएको छ। यसका लागि उच्चस्तरीय समिति गठन गरेर छलफललाई तीव्र बनाइएको छ।
सोही क्रममा सञ्चारमन्त्री खरेलले शनिबार तय भएको तीन दलका शीर्ष नेता र प्रधानमन्त्रीबीच हुने वार्ताका लागि ओलीलाई औपचारिक निम्तो दिएको बताइएको छ।
यसअघि खरेलले आजै कांग्रेस सभापति शेरबहादुर देउवासँग भेट गरिसकेका छन् भने ओलीसँगको भेटपछि नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग पनि भेट गर्ने कार्यक्रम रहेको जनाइएको छ।

फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै सरकारले प्रमुख तीन दलका शीर्ष नेतासँग निरन्तर संवाद थालेको हो।






































