काठमाडौं— सामाजिक रूपान्तरणः ललितकलाको अभियान भन्ने मूलभावमा रही गण्डकी प्रादेशिक ललितकला प्रदर्शनी २०८२, माघ १५ गतेदेखि १९ गतेसम्म गैँडाकोट नगरप्रज्ञा–प्रतिष्ठानको ग्यालरीमा हुने भएको छ ।

नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठान र गैँडाकोट नगर प्रज्ञा–प्रतिष्ठान/गैँडाकोट नगरपालिकाको संयुक्त आयोजनामा प्रदर्शनी हुन लागेको पत्रकार सम्मेलनमार्फत जानकारी गराइएको हो ।

कार्यक्रममा नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानका सदस्य सचिव देवेन्द्रकुमार काफ्ले ‘थुम्केली’ ले प्रदर्शनीमा गण्डकी प्रदेशका समसामयिक चित्रकला, समसामयिक मूर्तिकला, परम्परागत मूर्तिकला, शिल्प–हस्तकला, वास्तुकला तथा लोककला, परम्परागत चित्रकला, बहुआयामिक तथा अन्य सिर्जनात्मक कला विधाका कलाकृति राखिने जानकारी गराएका थिए ।

थुम्केलीका अनुसार प्रदर्शनीसँगै कला र कलाकार सर्वेक्षण, प्रदेश तथा स्थानीय तह एवं विभिन्न समुदायमा रहेका कला र कलाकारको पहिचान तथा तिनको महत्त्वलाई उजागर गर्ने यसको लक्ष्य रहेको छ ।

गैँडाकोट नगर प्रज्ञा–प्रतिष्ठानका उपकुलपति भीमप्रसाद शर्माले गण्डकी प्रदेशका कलाकारको उत्सवका रूपमा प्रदर्शनी आयोजना गरिने बताए ।

गैँडाकोट नगरपालिका शिक्षा अधिकृत रामप्रसाद अधिकारीले प्रदेश प्रदर्शनीको अवसर दिएकोमा नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानप्रति आभार व्यक्त गरेका छन् ।

गैँडाकोट नगर प्रज्ञा–प्रतिष्ठानका कुलपति गोविन्दराज विनोदीले प्रदर्शनीलाई ऐतिहासिक उत्सवका रूपमा मनाउने गरी तयारी भइरहेको बताउँदै नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानले आफूहरूलाई प्रेरित गरेको बताए ।

नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठान र गैँडाकोट नगर प्रज्ञा–प्रतिष्ठानको साझा उद्देश्य नेपाली ललितकला क्षेत्रको सर्वाङ्गीण विकासका लागि खोज–अनुसन्धान, प्रशिक्षण, कार्यशाला, गोष्ठी, सम्मेलन, महोत्सव, प्रतियोगिता, प्रदर्शनी तथा कलाकारको जीवन स्तर उकास्नका लागि विविध गतिविधि गर्ने रहेको छ ।

यस्तै, नेपाली ललितकलालाई देश विदेशसम्म पु¥याउने, सम्मान, कदर एवं पुरस्कार प्रदान गर्ने, पुस्तकालय, ग्यालरी, सङ्ग्रहालय आदि स्थापना गर्ने, सिर्जनावृत्ति÷छात्रवृत्ति÷विद्वत्वृत्ति प्रदान गर्ने, नेपालका रैथाने शिल्पज्ञान तथा कलाको संरक्षण, प्रवर्धन तथा विकासलगायतका ललितकलाका विविध पक्षमा कार्य गर्ने प्रतिष्ठानको उद्देश्य रहेको छ ।

‘प्रादेशिक ललितकला प्रदर्शनी २०८२’ कोसीमा माघ २९ गतेदेखि फागुन ४ गतेसम्म, मधेसमा माघ १६ गतेदेखि २० गतेसम्म, बागमतीमा फागुन ८ गतेदेखि फागुन १२ गतेसम्म, लुम्बिनीमा माघ १७ गतेदेखि माघ २१ गतेसम्म, कर्णालीमा माघ १९ गतेदेखि माघ २३ गतेसम्म, सुदूरपश्चिममा माघ २१ गतेदेखि माघ २५ गतेसम्म हुने छ ।