काठमाण्डौ । क्रिश्चियन धर्मका संस्थापक येशु ख्रीष्टको जन्मदिनको सम्झनामा आज क्रिश्चियन धर्मावलम्बीहरूले ‘क्रिसमस डे’ मनाउँदैछन् ।

आजभन्दा २०२५ वर्षअघि डिसेम्बर २५ तारिखका दिन येशु ख्रीष्टको जन्म इजरायलको वेथलेहेममा भएको थियो।पवित्र आत्माबाट गर्भवती भई कुमारी मरियमबाट जन्मेको भनिएका येशु ख्रीष्टले ३ मुख्य खुसियाली मुक्ति, प्रेम र शान्ति दिएकाे विश्वासमा क्रिश्चियन समुदायले आजको दिनलाई तीनवटै दिवसका रूपमा मनाउने गरेका छन। 

मानिसलाई प्रेम गरेर आएकाले प्रेम दिवस, शान्ति स्थापना गर्न आएकाले शान्ति दिवस र मुक्ति दिन आएकाले मुक्ति दिवसका रूपमा आजको दिनलाई मनाउने गरिएको छ। विश्वका धेरै मानिसले मनाउने क्रिसमस डे नेपालमा भने विसं २०६३ पछि महासङ्घले महोत्सवका रूपमा मनाउन थालेको हो ।

महासङ्घ मूल समारोह समितिको आयोजनामा आज दिउँसो क्रिसमस महोत्सव २०८२ आयोजना गरिएको छ । कार्यक्रममा सरकारका प्रतिनिधि, सरोकार भएका निकायका अधिकारी, मानव अधिकारवादी लगायतको उपस्थिति रहनेछ।

दिवसका अवसरमा विसं २०७८ देखि फेरि सबैलाई सार्वजनिक बिदा दिइएको छ । पछिल्लो समय मुख्य शहरका प्रमुखस्थल क्रिसमस ‘ट्रि’ ले सजाउने गरिएको छ । विशेषगरी पर्यटक बढी आउने पर्यटकीय क्षेत्र ठमेल, बौद्ध, पोखरा, सौराहालगायत सहरमा क्रिसमसको रमझम बढी हुने गरेको छ । महासङ्घको दाबीअनुसार हाल नेपालमा ३० लाख क्रिश्चियन धर्मावलम्बी र १३ हजारभन्दा बढी चर्च छन् ।