काठमाडौं— बंगलादेशले दिल्लीस्थित उच्चायोगपछि विभिन्न स्थानहरूमा भिसा सेवामा अस्थायी रोक लगाएको छ । बंगलादेशले दिल्लीस्थित आफ्नो उच्चायोगमा भिसा सेवाहरू अस्थायी रूपमा बन्द गरेपछि अगरतलामा रहेको भिसा कार्यालय र सिलिगुडीस्थित भिसा आवेदन केन्द्र पनि बन्द गरेको छ ।
भारतको त्रिपुरा राज्यको अगरतलास्थित बंगलादेश भिसा तथा काउन्सुलर सेवाहरूलाई मंगलबारदेखि अनिश्चितकालका लागि बन्द गरिएको बीबीसी बंगला सर्भिसले बताएको छ ।
त्यसैगरी, पश्चिम बंगालको सिलिगुडीस्थित बंगलादेश भिसा आवेदन केन्द्रको कामकारबाही पनि अस्थायी रूपमा निलम्बित गरिएको छ ।
बंगलादेशमा हिन्दु युवक दीपुचन्द्र दासको हत्यापछि विगत केही दिनदेखि अगरतलामा केही स्थानीय संगठनहरूले विरोध प्रदर्शन गरिरहेका छन् ।
यद्यपि, बीबीसी बंगलासर्भिसले दूतावासका स्रोतहरूको हवालामा कोलकातास्थित बंगलादेश भिसा कार्यालय अझै खुला रहेको बताएको छ ।
यसअघि बंगलादेशले दिल्लीस्थित उच्चायोगमा भिसा सेवाहरू अस्थायी रूपमा रोकेको थियो । उच्चायोगको गेटमा एउटा सूचना टाँस्दै अर्को सूचना नआउन्जेल सेवाहरु बन्द रहने उल्लेख छ ।






































