काठमाडौं— काठमाडौंमा उत्पादन गरिएको रायो सागमा अत्यधिक मात्रामा विषादी भेटिएको छ। बिक्रीका लागि मंगलबार कालीमाटी तरकारी बजारमा ल्याइएको रायो सागमा ९९.०८ प्रतिशत ‘अर्गानोफस्फेट’ नामक विषादी फेला परेको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले जनाएको छ।

केन्द्रीय कृषि प्रयोगशालाले मंगलबार कालीमाटी तरकारी बजारका १५ वटा पसलबाट संकलन गरिएका १५ प्रकारका तरकारी तथा फलफूलको परीक्षण गरेको थियो। सो परीक्षणका क्रममा रायो सागमा विषादीको मात्रा अत्यधिक भेटिएपछि उक्त साग उपभोगका लागि पूर्ण रूपमा अयोग्य ठहर गरिएको हो।

सरकारी मापदण्डअनुसार अर्गानोफस्फेट विषादी ३५ प्रतिशतभन्दा कम भएमा मात्र उपभोगयोग्य मानिन्छ। ३५ देखि ४५ प्रतिशतसम्मको मात्रा भेटिएमा केही दिन सुरक्षित राखेर मात्र प्रयोग गर्न सकिने व्यवस्था छ। तर ४५ प्रतिशतभन्दा बढी विषादी पाइएमा त्यस्ता तरकारी उपभोग गर्न नहुने स्पष्ट मापदण्ड रहेको छ।

यसअघि पनि कालीमाटी बजारमा बिक्रीका लागि ल्याइएका हरियो धनियाँ, स्थानीय काउली, ब्रोकाउली, तिते करेला, हरियो फर्सी, घिउसिमी लगायतका तरकारीमा उच्च मात्रामा विषादी भेटिँदै आएको छ, जसले उपभोक्ताको स्वास्थ्यप्रति गम्भीर चिन्ता बढाएको छ।