जनकपुरधाम— सरकारले निर्धारण गरेको मापदण्ड पालना नगरी दर्ता बिना सञ्चालनमा रहेका एक अस्पतालसहित चार वटा औषधि पसलमाथि धनुषामा कारबाही प्रक्रिया अघि बढाइएको छ।
औषधि व्यवस्था विभाग वीरगञ्ज कार्यालयले जनकपुरधाम र धनुषाका विभिन्न स्थानमा गरेको अनुगमन तथा छड्के निरीक्षणका क्रममा नियमविपरीत सञ्चालनमा रहेका ती स्वास्थ्य संस्थाहरूलाई सिल गरी कारोबार रोक्का गरिएको जनाएको छ।
कार्यालय प्रमुख शम्भु साहका अनुसार जनकपुरको रामानन्द चौकमा रहेको जनकपुर सुरक्षा अस्पताल तथा फार्मेसी, बजरङ्ग चौकस्थित प्रशान्त मेडिकल हल, माछा बजारको राघव सर्जिकल पसल र वीरेन्द्र बजारको कम्युनिटी सर्विस अस्पताललाई सिल गरिएको हो।
अनुगमनका क्रममा निजी अस्पतालसहित करिब दुई दर्जन औषधि पसलको जाँच गरिएको थियो। तीमध्ये ११ वटा औषधि पसलमा फर्मासिस्ट नपाइएको र मनपरी औषधि बिक्री वितरण भइरहेको भेटिएपछि पहिलो चरणमा चेतावनी दिइएको साहले जानकारी दिए।






































