काठमाडौं— क्रिसमस पर्व नजिकिँदै जाँदा यसको तयारीले पनि तीव्रता पाउन थालेको छ। पछिल्ला वर्षहरूमा नेपालमा समेत क्रिसमसलाई उत्साह र तामझामका साथ मनाउने चलन बढ्दो छ। यद्यपि क्रिसमस मुख्यतः इसाई धर्मावलम्बीहरूको पर्व हो, तर आजभोलि सबै समुदायका बालबालिका, किशोरकिशोरी तथा युवायुवतीहरू यस पर्वको रमाइलोमा सहभागी भएको देखिन्छ। प्रत्येक वर्ष डिसेम्बर २५ तारिखका दिन विश्वभरका इसाई धर्मावलम्बीहरूले क्रिसमस मनाउने परम्परा रहेको छ। नेपालमा विशेषगरी काठमाडौँ उपत्यकामा क्रिसमस नजिकिँदै जाँदा बजार, चर्च र सार्वजनिक स्थानहरूमा यसको छुट्टै चहलपहल र रौनक देखिन थालेको छ।