तनहुँ— म्याग्दे गाउँपालिका–४ मा अवस्थित थर्पु अस्पतालमा अब नियमित आँखा उपचार सेवा उपलब्ध हुने भएको छ। यसका लागि म्याग्दे गाउँपालिकाले पोखराको घारीपाटनस्थित हिमालय आँखा अस्पतालसँग औपचारिक सम्झौता गरेको हो।
स्थानीयवासीले आफ्नै आसपासमै सहज रूपमा आँखा परीक्षण र उपचार पाउन सकून् भन्ने उद्देश्यले गरिएको सम्झौताअनुसार सेवा आगामी पुस ३ गतेदेखि सञ्चालनमा आउनेछ। सम्झौतामा गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद श्रेष्ठ र हिमालय आँखा अस्पतालकी मेडिकल डाइरेक्टर डा. बबिता गुरुङले हस्ताक्षर गरेका छन्।
सम्झौता कार्यान्वयनसँगै दैनिक रूपमा नेत्र प्राविधिक खटाइनेछन्। यसले दमौली वा खैरेनीटार पुगेर आँखा परीक्षण गराउनुपर्ने स्थानीयको झन्झट अन्त्य हुने गाउँपालिकाले जनाएको छ।
आँखा उपचार केन्द्र सञ्चालनका लागि आवश्यक उपकरण तथा प्राविधिक जनशक्ति हिमालय आँखा अस्पतालले उपलब्ध गराउनेछ भने केन्द्र सञ्चालन तथा सहयोगी भूमिका गाउँपालिकाले देशव्यापी रूपमा निर्वाह गर्नेछ। सेवा उपलब्ध गराउनका लागि गाउँपालिकाले हिमालय आँखा अस्पताललाई वार्षिक ६ लाख रुपैयाँ प्रदान गर्ने व्यवस्था मिलाइएको छ। बिरामीबाट उठ्ने शुल्क भने गाउँपालिकाको आम्दानीमा जानेछ।
सेवाको गुणस्तर र प्रभावकारिता सुनिश्चित गर्न ‘आँखा उपचार केन्द्र सहयोग समिति’ गठन गरिनेछ। समितिको संयोजक थर्पु आधारभूत अस्पताल व्यवस्थापन समितिको अध्यक्ष हुनेछन् भने सह–संयोजकका रूपमा अध्यक्षले चयन गर्ने एक समाजसेवी रहनेछन्।
त्यसैगरी समितिमा म्याग्दे–४ र म्याग्दे–७ का वडाध्यक्ष, हिमालय आँखा अस्पतालका व्यवस्थापक तथा व्यवस्थापकले तोकेको एक व्यक्ति, गाउँपालिकाको स्वास्थ्य शाखा प्रमुख सदस्य रहनेछन्। सचिवको जिम्मेवारी भने थर्पु अस्पताल प्रमुखले सम्हाल्नेछन्।






































