झापा— झापामा पछिल्लो तीन वर्षमा ७५ जना एचआईभी संक्रमितको मृत्यु भएको छ । जिल्लामा पछिल्लो तीन वर्षयता एचआईभी संक्रमितको मृत्युदर वृद्धि हुँदै गएको स्वास्थ्य कार्यालय झापाका फोकल पर्सन वीरेन्द्र दासले जानकारी दिए । आर्थिक वर्ष २०७९/८० मा १७ जना, २०८०/८१ मा २३ जना र आव २०८१/८२ मा ३५ जनाको मृत्यु भएको उनले बताए । 

'उपचारमा आउने बिरामीमा औषधि नखाने दर शून्य झरेको छ,' उनले भने, 'तर, मृत्युदर भने बढेको छ ।' चालु आर्थिक वर्षको साउनदेखि कात्तिक मसान्तसम्ममा २२ जना नयाँ एचआईभी संक्रमित फेला परेका छन् । नयाँ एचआईभी संक्रमितमध्ये चार जनाले दमक अस्पताल दमक र १८ जनाले मेची प्रादेशिक अस्पतालबाट नियमित एआरटी औषधि सेवन गरिरहेका छन् । 

झापामा हालसम्म नयाँ तथा पुराना गरी ८०६ जना एचआईभी संक्रमितले नियमित एआरटी सेवा लिइरहेका छन् । जिल्लामा कुल एचआईभी संक्रमितमध्ये १८ वर्षमुनिका ३० जना बालबालिका रहेको फोकल पर्सन दासले बताए ।

स्वास्थ्य कार्यालय झापा र लवकुश आश्रमद्वारा १८ वर्षमुनिका संक्रमित बालबालिकाका लागि प्रतिमहिना १र१ हजारका दरले सहयोग प्राप्त भइरहेको छ । नयाँ सचेतना समूह भद्रपुरमा रहेकोमा ३० जना सबै बालबालिकाले एआरटी सेवा लिँदै आइरहेका छन् ।

झापामा आव २०७९/८० मा नयाँ ७० जना र पुरानो गरी ६६३ जना, आव २०८०/८१ मा नयाँ ७४ जना र पुरानो गरी ७५० जना र आव २०८१/८२ मा नयाँ ५६ जना र पुरानो ७८४ जना एचआईभी संक्रमित उपचाररत रहेको कार्यालयको तथ्यांक छ ।