सप्तरी— सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका–१ भारदहस्थित कंकालिनी मन्दिर प्राङ्गणमा आयोजित एक दिने निःशुल्क आँखा शिविर सफलतापूर्वक सम्पन्न भएको छ।
सोसल लाइफ सेन्टर सप्तरी नेपाल र हनुमाननगर कंकालिनी नगरपालिकाको संयुक्त आयोजनामा गरिएको शिविरमा ४५७ महिला र ३०० पुरुष गरी कुल ७५७ जनाले आँखा परीक्षण गराएका नगरप्रमुख विरेन्द्र माझीले जानकारी दिए।
शिविरमा १५० देखि २०० जनासम्म सेवा दिने लक्ष्य राखिए पनि अपेक्षाभन्दा धेरै बढी नागरिक उपस्थित भएपछि साँझसम्म ७५७ जनाले सेवा लिन सफल भएका थिए। तीमध्ये ११३ जनामा मोतियाविन्दु देखा परेको र उनीहरूको निःशुल्क शल्यक्रिया गरिने नगरप्रमुख माझीले बताए।
शिविरमा चौधरी आँखा अस्पताल, लहानका विशेषज्ञ चिकित्सकहरूको टोलीले परीक्षण तथा परामर्श प्रदान गरेको थियो।






































