भोजपुर— टेम्केमैयुङ गाउँपालिका–७, कोटमा निर्माणाधीन १५ शैय्याको अस्पताल भवन ठेकेदारको लापरबाहीका कारण पाँच वर्षदेखि अधुरै छ। काम छाडेर ठेकेदार सम्पर्कविहीन बनेपछि स्थानीय बासिन्दा निराश भएका छन्।

विसं २०७८ मा दुई वर्षभित्र निर्माण सम्पन्न गर्नेगरी भूमि हिमालयन जेभी ले जिम्मा लिएको परियोजना २०८० असारमै सकिनुपर्ने थियो। तर सम्झौता अवधि सकिएको दुई वर्ष बितिसक्दा पनि करिब १० प्रतिशत मात्र काम भएको गाउँपालिकाले जनाएको छ। निर्माण व्यवसायी विवेश कार्की लामो समयदेखि सम्पर्कमा छैनन्।

अस्पताल निर्माणको कुल लागत भ्याटबाहेक रु १० करोड १३ लाख ८३ हजार रहेको छ। हालसम्म निर्माण कम्पनीले रु ९१ लाख भुक्तानी बुझेको गाउँपालिकाले जानकारी दिएको छ।

अस्पतालको लागि १३.५ रोपनी जग्गा उपलब्ध गराएका स्थानीयले काम अलपत्र बन्दै जाँदा ठेकेदारलाई कानुनी कारबाही गर्न माग गरेका छन्। स्थानीय भवानी नेपालले “अस्पताल बन्ने आशामा जग्गा दिएका थियौँ, अहिले बाँझो छ,” भन्दै सरकारको हस्तक्षेप आवश्यक रहेको बताए।

देश–विदेशमा रहेका स्थानीयसँग समन्वय गरेर जग्गा उपलब्ध गराइएको हो। स्थानीय योगेन्द्र कटुवालका अनुसार, “रकम संकलन गरेर जग्गा दिएको थियो, तर लामो समयसम्म पनि अस्पताल नबन्दा निराश छौँ।”

गाउँपालिकाका अध्यक्ष सरोज बस्नेतले ठेकेदारलाई पटक–पटक समन्वय गर्ने प्रयास गरे पनि कुनै प्रतिक्रिया नआएको बताए। “ठेकेदारका कारण अस्पताल अलपत्र परेको छ। अब भने कारबाही प्रक्रिया अघि बढाउने तयारी छ,” उनले भने।

अस्पताल बनेपछि टेम्केमैयुङ गाउँपालिका–५, ६, ७, ८ र ९ का स्थानीय बासिन्दा प्रत्यक्ष लाभान्वित हुनेछन्।