काठमाण्डौ । एनपिएलमा आज दुई खेल हुँदैछन्। त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा ११:४५ बजे पहिलो र अपराह्न ४ बजे दोस्रो खेल हुँदैछ।
पहिलो खेलमा काठमाण्डौ गोर्खाज र पोखरा एभेन्जर्स भिड्दै छन् भने दोस्रो खेलमा चितवन राइनोजले सुदूरपश्चिम रोयल्सको सामना गर्नेछ। काठमाण्डौले आज लिग चरणको अन्तिम खेल खेल्न लागेको हो। ६ खेलबाट ४ खेल जित्दै ८ अंक जोडेर अंक तालिकाको दोस्रो स्थानमा छ।
आजको खेल जित्न सके काठमाण्डौले प्लेअफमा स्थान सुरक्षित गर्नेछ। पोखरा एभेन्जर्सले छैटौं खेल खेल्दैछ। पोखरा पाँचमध्ये २ खेल जितेर चार अंक जोड्दै पाँचौं स्थानमा छ।
आजको खेल उसका लागि प्लेअफमा पुग्ने सम्भावना जीवित राख्नका लागि महत्त्वपूर्ण छ। दोस्रो खेलमा भिड्न लागेको सुदूरपश्चिम रोयल्स अहिलेसम्म अपराजित छ। आज उसले छैटौं खेल खेल्दैछ। सुदूरपश्चिम १० अंक जोडेर तालिकाको शीर्ष स्थानमा छ।
उसले प्लेअफमा स्थान पनि सुरक्षित गरिसकेको छ। चितवन राइनोजले पनि छैटौं खेल खेल्दैछ। उसले २ खेल जितेर ४ अंक जोड्दै छैटौं स्थानमा छ।






































