काठमाडौं— काठमाडौंको जोरपाटीमा अपाङ्गता भएकाहरूलाई न्यानो कपडा वितरण गरिएको छ । युवा अपाङ्ग संगठनको आयोजनामा एभरेस्ट वासिङ एन्ड गार्मेन्ट प्रा।लि‍।ले सोमबार ज्याकेट वितरण गरेको हो ।

‘साथी ज्याकेट कार्यक्रम’अन्तर्गत गोकर्णेश्वर नगरपालिका– ६ स्थित जोरपाटीमा सञ्चालित बालबाटीका स्कुलमा कपडा वितरण गरिएको आयोजक समूहका सदस्य प्रकाश श्रेष्ठले जानकारी दिए । अपाङ्गता भएका व्यक्तिहरूको ३४औँ अन्तर्राष्ट्रिय दिवसको अवसरमा युवा अपाङ्ग संगठनका संयोजक तथा एभरेस्ट गार्मेन्टका मधु क्षेत्रीले कपडा सहयोग गरेका हुन् ।

मौसमको प्रतिकूलतामा जीवन सहज होस् भनेर कपडा वितरण गरिएको आयोजना संस्थाले जनाएको छ । न्यानो वितरण गर्ने संस्थाले ‘अपाङ्गता समावेशी समाजको प्रवर्द्धन, सामाजिक उन्नति सम्बर्द्धन’ भन्ने नारालाई आत्मसाथ थरेर आपाङ्गता भएका व्यक्तिहरूको सहयोगी बन्दै आएको छ ।