काठमाडौं— एसिसी यू–१९ प्रिमियर कपको फाइनल खेलमा घरेलु टोली यूएईले नेपाललाई १ सय ४८ रनको लक्ष्य दिएको छ ।
टस हारेर ब्याटिङको मौका पाएको यूएई ४५.५ ओभरमा १ सय ४७ रन बनाएर अलआउट भयो ।
उसका लागि अहमद खुदादादले अर्धशतकीय पारी खेले । १ सय २६ बलको सामना गरेका ६ चौकाको मद्दतमा ७१ रनको पारी खेलेका हुन् ।
त्यस्तै, नुरउल्लाह अयोबीले २६ र अयान मिस्बाहले ११ रन जोडे । बाँकी ब्याटरले भने दोहोरो अंकमासमेत रन बनाउन सकेनन् ।
नेपालका लागि बलिङमा दयानन्द मण्डलले घातक बलिङ गरे । उनले ६.५ ओभरमा दुई मेडनसहित १७ रन खर्चिएर ६ विकेट लिए । त्यस्तै, अपराजित पौडेलले दुई, नितेश कुमार पटेल र अशोक धामीले एक/एक विकेट लिए ।
नेपालले जारी लिगमा सानदार प्रदर्शन गरेको छ । नेपाल अपराजित रहँदै फाइनलमा प्रवेश भएको हो ।
नेपाल प्रिमियर कपको फाइनलमा पुगेसँगै यू–१९ एसिया कपमा पनि छनोट भएको छ ।





































