काठमाण्डौ । राजधानीमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत आज लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्स तथा जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्सबीच प्रतिस्पर्धा हुँदैछ ।

त्रिभुवन विश्वविद्यालयको अन्तरराष्ट्रिय क्रिकेट रंगशालामा पहिलो खेल ११:४५ र दोस्रो खेल अपराह्न ४:०० बजे हुनेछ ।

रोहितकुमार पौडेलको कप्तानीमा लुम्बिनी सुदूरपश्चिमलाई पराजित गर्ने लक्ष्यमा छ । तीन खेलमा एउटा मात्र जितेको लुम्बिनी अंक तालिकाको छैटौँ स्थानमा छ । दीपेन्द्रसिंह ऐरीको कप्तानीमा सुदूरपश्चिम लगातार चौथो जितका साथ अंक तालिकामा शीर्ष स्थानमा छ । यो टोलीले ६ अंक बटुलेको छ

अनिल शाह नेतृत्वको साविक विजेता जनकपुर र कुशल भुर्तेलको कप्तानीमा पोखरा जित आफ्नो पोल्टामा पार्ने दाउमा छन् । यसअघि जनकपुर र पोखरा दुवै खेलमा पराजित भएका थिए ।

अनिल शाहको कप्तानीमा रहेको जनकपुरमा आसिफ सेख, ललित राजबंशी जस्ता राष्ट्रिय टिमका खेलाडी छन् भने इमरान ताहिर, वाने प्रनिल, लाहिरु मिलान्था जस्ता विदेशी खेलाडी रहेका छन् ।

त्यसैगरी कुशल भुर्तेलको कप्तानीमा रहेको पोखरा एभेन्जर्समा सागर ढकाल, आकाश चन्द जस्ता राष्ट्रिय टिमका खेलाडी रहेका छन् भने डान डाउथवेट, जिम्मी निशाम, रेमन राइफर, एडम रोसिङ्टन र जेसन रोय जस्ता विदेशी खेलाडी रहेका छन् ।