काठमाडौं— जानकी मन्दिरमा सुरु भएको सप्ताहव्यापी विवाहपञ्चमी महोत्सवको पहिलो दिन आज धूमधामका साथ ‘नगर दर्शन’ सम्पन्न भएको छ। बिहानैदेखि जनकपुरधाममा भीड बढ्दै गएपछि मन्दिर परिसर तथा आसपासका मार्गहरू श्रद्धालु भक्तजनले भरिएका थिए।

हजारौं भक्तजनले नगर दर्शनमा सहभागी हुँदै जानकी मन्दिरदेखि शहरका विभिन्न प्रमुख स्थलसम्मको यात्रामा उत्साहपूर्वक सहभागी भए। स्थानीयवासीदेखि देश–विदेशबाट आएका दर्शनार्थीले नगर दर्शनको धार्मिक तथा सांस्कृतिक महिमा आत्मसात् गर्दै उल्लासपूर्वक सहभागिता जनाएका छन्।

महोत्सवको प्रारम्भिक दिनमै यस्तो व्यापक भीड देखिनु जनकपुरधामको सांस्कृतिक आकर्षण र विवाहपञ्चमी पर्वप्रति जनआस्थाको प्रतिक रहेको आयोजक समितिले बताएको छ। शहरभर उत्सवको रौनक छाएको छ भने जनकपुरवासी यस महापर्वमा रमाइरहेका छन्।