जनकपुर— सप्ताहव्यापी रुपमा मनाइने सीताराम विवाहपञ्चमी महोत्सव आजबाट विधिवत सुरु भएको छ । 

आज पहिलो दिन नगर दर्शनको कार्यक्रम रहेको छ । प्राचीनकालमा राम र लक्ष्मण आफ्नो गुरुसँग पहिलो पटक जनकपुरधाम आउँदा उनलाई जनकपुरधाम र यहाँका बजार, सामान, यहाँका मानिसहरुसँग भेटघाट गराइएको थियो । 

सोही समयलाई पुनः दर्शाउँदै राम र लक्ष्मण बनेका बालकलाई जनकपुर नगरको दर्शन गराइन्छ । जानकी मन्दिको प्राङ्गनमा आज दिउँसो देखि नाचगान र भव्य उत्सव सुरु हनेछ । सोही स्थानमा नगर दर्शन विधि गरिने जानकी मन्दिरका छोटे महन्थ राम रोशन दासले जानकारी दिए ।

भोली दोस्रो दिन फूलवारी लिला मनाइन्छ । त्यस्तै पर्सी तेस्रो दिन धनुषायज्ञ गरिन्छ चौँथो दिन तीलकोत्सव, पाँचौ दिन मटकोर, छैठ एव विवाहपञ्चमीको मूल दिन स्वयम्बर र शुभ विवाह र सातौँ दिन राम कलेवा गरिन्छ । राम कलेवामा जनतीको रुपमा अयोध्याबाट आएका साधु सन्तहरुलाई ५६ व्यञ्जन खुवाई विदाई गरीन्छ।

प्राचीन मिथिलाको राजधानी समेत रहेको जनकपुरधाममा प्रत्येक वर्ष विवाहपञ्चमी महोत्सव धुमाधामका साथ मनाइने गरिन्छ । विवाहपञ्चमी हेर्न नेपालसहित भारतबाट लाखौँको संख्यामा श्रद्धालु भक्तजनहरु आउने गर्छन् ।

प्राचिनकालमा मिथिलाका राजा जनककी छोरी सीताको विवाह अयोध्याका राजा दशरथको जेठा छोरा रामसँग भएको स्मरणमा विवाहपञ्चमी मनाइने गरिन्छ ।